काठमाडौँ, २३ जेठ । नेकपा एमालेकी सांसद गंगा चौधरीले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन नहुने धारणा राखेकी छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसद चौधरीले हदम्याद हटाउन सरकारले विधेयक पेस गरेका बेला यसको विरोध गरेकी हुन् ।
उनले यस्ता विधेयकले पुरुषहरू झन् पीडित हुने दाबी गरेकी छन् ।
पूर्वसभामुख महरा र कलाकार पल साहको उदाहरण दिँदै उनले भनिन्, 'महिला हुँ भन्दैमा महिलाको भावनामात्र बुझ्ने होइन, पुरुषको भावना पनि बुझ्नुपर्छ । अस्ति भर्खरकै केस पल शाह र सुस्मिताको कुरा ! जबसम्म मन मिल्यो लभको संज्ञा दिने, स्वार्थ पूरा भएन भने बलात्कारको संज्ञा दिने ! पूर्वसभामुखको घटनामा पनि स्वार्थ मिलुन्जेल कसैलाई पत्तो थिएन, स्वार्थ नमिलेपछि बलात्कारको संज्ञा दिएर ६/६ महिना जेलमा कोचियो ।'
उनले थपिन् 'यदि हद म्याद राखिएन भने मुद्दाको चाङ लाग्छ अनि न्याय कसरी पाउँछन् ? म पनि एउटा महिला सांसद हो। तर पुरुषको पीडाको सन्दर्भमा पनि कानुनले हेर्नुपर्छ । पुरुष पनि पीडित छन्, उनीहरूका लागि पनि सम्बोधन हुनुपर्छ ।'
तपाईको प्रतिक्रिया