राजविराजमा घरको नक्सा पास गर्न नमान्नेमाथि कारबाही हुन्छ : मेयर यादव

समाचार

सप्तरी, २३ जेठ । सप्तरीको राजविराज नगरपालिकाका मेयर भीमराज यादवले घरको नक्सा पास गर्न नमाने कारबाही गर्ने चेतावनी दिएका छन् ।

उनले नगरको ४० प्रतिशत घरको नक्सा पास नभएकोले तत्काल नक्सापास गर्न नगरवासीलाई आग्रह गर्दै नमानेको अवस्थामा कारबाही गर्ने बताएका हुन् ।

सोमबार नगरपालिका कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधि र पत्रकारहरूसँगको परिचयात्मक तथा छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले नक्सा पास गर्न नगरमा कर्मचारी परिचालन गरिसकेको पनि जानकारी दिए । नक्सा पास गर्ने लाग्ने जरिवानामा छुट गर्ने पनि बताए ।

उनले भने, ‘नक्सा पास गर्न मानेनन् भने पानी र बत्ती बन्द गर्छु । त्यसपछि कारबाही हुन्छ ।'

त्यस्तै, राजविराज नगरपालिका कार्यालयमा रहेको असुल हुने बेरुजु सम्बन्धित व्यक्तिलाई प्रशासनमार्फत थुन्न लगाएर भए पनि असुली गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले छोराछोरीसँग बस्न सक्ने अवस्था नरहेका, घरबाट निकालिएका आमाबाबुका लागि तत्काल वृद्धा आश्रम खोलेर सञ्चालनमा ल्याउने बताए ।

विभेदमा परेको विकास हुन नसकेको राजविराज सहरलाई ६ महिनाभित्र गुलाफी सहर बनाउने र त्यसका लागि आफू कठोर बन्नुपर्ने उनले बताए ।

प्रमुख यादवले घुस दिएर गलत काम गराउन खोज्ने र घुस लिएर गलत काम गर्नेलाई समातेर प्रशासनको जिम्मा लगाएर कारबाही दायरा ल्याउने बताए ।

राजविराजका एकमात्र सरकारी अस्पताल गजेन्द्रनारायण अस्पताल, शैक्षिक क्षेत्र, मालपोत, नापी लगायतका सरकारी कार्यालयहरू माफिया गुन्डाहरूको अखडा बनेको तत्काल सुधा र गर्न लागि परेको जानकारी दिए ।

सरकारी अस्पतालबाट सेवासुबिधा लिएर निजी अस्पतालमा समय बिताउने डाक्टर बिदा दिने बताए। स्वास्थ्य, शिक्षा क्षेत्रको बेतिथि अन्त्य गरी चाँडै सुधार ल्याउने मेयर यादवको भनाइ थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ