जनकपुरधाम, २४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन सरकारसँग माग गरेको छ ।
जनकपुरधाममा भएको मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा यस्तो माग गरिएकाे हाे ।
कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालको भेलाले जन्मसिद्ध नेपाली नागरिकबाट जन्मिएका सन्तानलाई सहज र सरल रूपमा नेपाली नागरिकता उपलब्ध गराउन नेपाल सरकार समक्ष जोडदार माग गर्ने निर्णय गरेको हो ।
त्यस्तै, ऐतिहासिक राम जानक मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गर्न र जनकपुरधाममा धार्मिक पर्यटन प्रबर्द्धन गर्नसमेत राप्रपा नेपालले माग गरेको छ ।
भेलाले नेपालको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको हुलाकी राजमार्गको काम थाल्न र पर्यावरणको सुनिश्चितासहित निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाउनसमेत माग गरेको छ ।
भेलाले हिन्दूराष्ट्र, लोकतन्त्र र राष्ट्रियताको मान्यतामा आधारित ’सम्वर्द्धनवाद’ को वैचारिक दर्शनको धरातलमा सुशासनको माध्यमबाट समृद्ध नेपालको लक्ष्य हासिल गर्ने उद्देश्य प्राप्तिका निम्ति पार्टीलाई देशको बलियो र अग्रणी शक्ति बनाउने अभियानमा सहभागी हुनसमेत सबैसमक्ष आह्वान गरेको छ ।
तपाईको प्रतिक्रिया