जनकपुरधाम, २५ जेठ । स्थानीय चुनाव सकिएलगतै जनता समाजवादी पार्टीले एकताको कुरा गर्न थालेको छ ।
बुधबार जनकपुरधाममा प्रेस मञ्चले गरेको पत्रकार सम्मेलनमा जसपा अध्यक्ष उपेन्द्र यादवले लाेकतान्त्रिक समाजवादी पार्टीलाई एकताका लागि कुनै बेला स्वागत गर्न तयार रहेकाे बताएका हुन् ।
उनले फुटेर होइन जुटेर मधेश विकासका लागि एकतावद्व हुनुपर्ने पनि तर्क गरेका छन् ।
उनले भने, ‘जनता समाजवादी र राजपा मलेर बनेको जसपाबाट महन्थ ठाकुर नेतृत्वमा निस्केको समूहबारे समीक्षा गर्ने समय आएको छ,’ अध्यक्ष यादवले भने, ‘पार्टी छाडेर के फाइदा भयो ? नोक्सान दुवैतिर भएको छ । फाइदा त कसैलाई भएको छैन, विभाजनको औचित्य छैन । भड्काउन षड्यन्त्र भएको छ । पार्टी फुट्दा न लोसपालाई हित भयो न मधेसी जनतालाई फाइदा भयो ।’
अध्यक्ष यादवले स्थानीय तहको चुनावले अपेक्षित परिणाम नदिएको ठहर गर्दै आगामी निर्वाचनमा पुनः एक भएर जानुपर्ने बताए ।
उनले मधेशमा ५३ प्रतिशत जनसंख्या रहेकाले साेही आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने बताएका छन् ।
अध्यक्ष यादवले गठबन्धनलाई निरन्तरता दिनुपर्ने पनि बताए ।
उनले भने, 'गठबन्धबाट कसैलाई फाइदा, कसैलाई नोक्सान भए पनि गठबन्धनको निरन्तरताको पक्षमा हामी छौँ ।'
गठबन्धनले लोकतन्त्रमाथिको संकटबाट बचाएर अगाडि बढेको उल्लेख गर्दै प्रतिनिधि सभाबाट नागरिकता ऐन पारित गरेर नागरिकताबाट वञ्चित मधेसीका सन्तानहरूलाई नागरिकता उपलब्ध गराउने यादवले प्रतिबद्धता जनाए ।
तपाईको प्रतिक्रिया