गगन थापाले भने– किसानलाई मल नदिने अनि सीमापारबाट ल्याएको मल खोसेर बहादुरी देखाउने ?

समाचार

काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले किसानलाई मल उपलब्ध गराउन नसक्नु सरकारको असफलता भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदसमेत रहेका थापाले किसानलाई बेलैमा आवश्यकताअनुसार मल उपलब्ध गराउन नसक्नु राजनीतिज्ञ र सरकारको सामूहिक असफलता भएको बताएका हुन् ।

उनले हरेक वर्ष मल आयातका लागि बजेट छुट्याए पनि मल आयात हुन नसकेपछि अब संरचना नै परिवर्तन गर्नुपर्ने बताए ।

सरकारले किसानलाई मल नदिने र सीमापारबाट ल्याएको मल खोसेर बहादुरी देखाउने गरेको टिप्पणी गरेका उनले मल आयात गर्ने संरचना नै परिवर्तन गर्नुपर्ने बताए ।

चीनले ३९४ प्रतिहेक्टर र भारतले १७५ प्रतिहेक्टर मल प्रयोग गरेको भन्दै उनले नेपालले ८७ प्रतिहेक्टर मल प्रयोग गर्ने भनिए पनि सरकारले मल नै उपलब्ध गराउन नसकेको बताए ।

‘सरकारले मल उपलब्ध गराउन नसक्दा पीडा भोगेका किसानको आँशुले पोल्नेछ,’ उनले भने, ‘पैसा छ । मल छैन । पैसा भएर पनि मल आयात गर्न वर्षाैंदेखिको संरचना अब परिवर्तन गर्नुपर्छ ।’

नेपाललाई १२ लाख ८६ हजार मेट्रिकटन भए पनि अतिआवश्यक पाँँच लाख २० हजार मेट्रिकटन मल पनि सरकारले उपलब्ध गराउन नसक्नु दुर्भाग्यपूर्ण भएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ