सप्तरी, २८ जेठ । पूर्वजनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीको निधन भएकाे छ ।
चाैधरीकाे शुक्रबार राति ५७ वर्षको उमेरमा निधन भएको हाे ।
क्यान्सरबाट पीडित चौधरीको भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनकी छोरी रक्षा चौधरीले बताइन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ साउन ११ गते विभिन्न चार पार्टीबाट १९ नयाँ मन्त्री थप्दा मिथिला चौधरीले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी थिइन् ।
त्यसबेला चौधरी नेकपा (संयुक्त) को सांसद थिइन् । संविधान सभा २०७० को सभासद रहेकी चौधरी मन्त्री भएकै बेला नेकपा (संयुक्त) र नेकपा माओवादी केन्द्रबीच एकता भएको थियो ।
देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरी ६४ सदस्यीय बनाएका थिए ।
२०२२ साल चैत्र ७ गते धनुषाको जनकपुर नगरपालिका–८ मा जन्मेकी चौधरीको विवाह सप्तरीको राजविराज–५ निवासी अधिवक्ता तथा नेकपा संयुक्तका नेता मदनमोहन चौधरीसँग भएको थियो । उनको श्रीमान, एक छोरा र दुई छोरी छन् ।
तपाईको प्रतिक्रिया