काठमाडौँ, २८ जेठ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई व्यापारका रूपमा नभई सेवाका रूपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् ।
शनिबार क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उनले यस्ताे बताएका हुन् ।
महानगर प्रमुख साहले उक्त अस्पतालबाट असहाय, गरिब तथा आर्थिक अभाव भएकालाई निःशुल्क उपचारको ग्यारेन्टी गर्न पनि उक्त चिकित्सालयलाई निर्देशन दिए ।
उनले शिक्षा र स्वास्थ्य सरकारको प्राथमिक एजेण्डा भएकाले यसलाई सेवाकै रूपमा लिनु आवश्यक रहेको भन्दै आवश्यक पर्ने सहयोग गर्न आफू तयार रहेको बताए ।
स्वास्थ्य र सरसफाइमा महानगरले उच्च चासो दिएको बताउँदै महानगर प्रमुख साहले यसका लागि नयाँ योजना तथा सल्लाह र सुझाव लिएर आउनेसँग सहकार्य गरिने प्रतिबद्धता पनि जनाए ।
अस्पताल प्रवेश गर्ने जोसुकै पनि अहिलेसम्म उपचारविहीन अवस्थामा फर्कनु नपरेको अस्पतालले जनाएको छ ।
तपाईको प्रतिक्रिया