काठमाडौँ, २९ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मधेशमाथि विभिन्न ठाउँबाट हस्तक्षेप हुने गरेको बताएका छन् ।
निजगढ विमानस्थल निर्माणमा न्यायालयबाट लगाइएको रोक र बजेटमा सरकारले न्यून रकम छुट्याएकोप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो बताएका हुन् ।
आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल भवनको शिलान्यास कार्यक्रममा मन्त्री आलेले मधेशी जनता सधैँ रैती हुनुपर्ने अवस्था सिर्जना भइरहेको पनि बताए ।
उनले न्यायपालिकाले मधेशलाई राजधानीसँग जोड्न नचाहने पनि आरोप लगाए ।
उनले निजगढ विमानस्थल निर्माणका लागि बजेटमा २६ करोड मात्र छुट्याएकोप्रति असन्तुष्टि जनाउँदै यसरी अन्तर्राष्ट्रिय विमान नबन्ने बताए ।
आलेले विमानस्थल निर्माणका लागि १ खर्ब २० अर्बको अनुमान गरिएको भन्दै दाँत फुकालेर विमानस्थलको निर्माण गर्न नसकिने पनि जिकिर गरे ।
उनले न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरिरहेको भन्दै न्यायपालिकालाई कार्यपालिकामाथि हस्तक्षेप गर्ने अधिकार कसले दियो भन्दै प्रश्नसमेत गरे ।
तपाईको प्रतिक्रिया