किसानको तर्फबाट गंगा चौधरीको प्रश्न– मल कहिले आउँछ मन्त्रीज्यू ?

समाचार

काठमाडौँ, ३० जेठ । प्रतिनिधिसभाकी सांसद गंगा चौधरीले किसानको समस्या समाधानमा सरकारले ध्यान नदिएको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा अत्यन्त सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सांसद चौधरीले मल नपाएर ६० प्रतिशत किसान समस्यामा हुँदासमेत सरकारले ध्यान नदिएको आरोप लगाएकी हुन् ।

किसानहरूले मल कहिले आउँछ भनेर आफूहरूसँग सोध्ने गरेको भन्दै उनले किसानहरूले सोधेको प्रश्नको जवाफ दिन कृषिमन्त्री तथा सरकारसँग आग्रह गरिन् ।

उनले मल दिन नसक्ने हो भने भारतबाट दुःख गरेर मल ल्याउने किसानमाथि लाठी चार्ज नगर्न आग्रह गरिन् ।

उनले भनिन्, ‘किसानहरूले सीमापारिबाट मल ल्याउँदा लाठी नलगाउनुस् भनेर पुलिसलाई निर्देशन दिनुस् । सीमावर्ती क्षेत्रका जनता आफ्नो खेतबारीका लागि ल्याउँदा पनि पुलिसको लाठी चार्ज हुन्छ ।’

किसानबाट मल खोसेर बहादुरी नदेखाउन पनि प्रहरी प्रशासनलाई निर्देशन दिन उनले सरकारलाई भनिन् ।

‘मल दिन सक्नुहुन्न भने किसानहरूले दुःख गरेर ल्याएको मल खोसेर आफ्नो प्रशासनलाई बहादुरी नदेखाउन भन्नुस्,’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ