जनकपुरधाम, ३० जेठ । तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपाले संघीय संसदबाट तत्काल नागरिकता विधेयक पास गर्न दबाब दिएको छ ।
तमलोपाले सोमबार जनकपुरधामका विरोध प्रदर्शन गर्दै नागरिकता विधेयक पास गर्न दबाब दिएको हो ।
दिउँसो जनकचोकबाट निस्किएको विरोध र्याली नगरका विभिन्न स्थानको परिक्रममा गर्दै पुनः जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले नागरिकता विधेयक पारित नगर्ने संघीय संसदको विरोधमा आफूहरूले प्रदर्शन गरेको बताए ।
उनले संघीय सांसदहरूकै कारण नागरिकता विधेयक लामो समयसम्म पनि पारित हुन नसकेको आरोप लगाए । विधेयक पारित नगरी संघीय संसदले सार्वभौम जनताको अधिकार कुण्ठित गर्ने कार्य गरेकोसमेत उनको आरोप छ ।
संसदमा रहेको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक चार वर्षदेखि अनिर्णित बनेको छ । यो विधेयक २०७५ साउन २२ मा दर्ता भई साउन २५ मा संसदमा प्रस्तुत भएको थियो । दफाबार छलफलका लागि यो विधेयक भदौ ५ गते राज्यव्यवस्था तथा सुशासन समितिमा पठाइएको थियो ।
समितिले फरक मतका साथ प्रतिवेदन तयार पारी २०७७ असार ९ मा संसदमा पेश गरेको थियो । तर, त्यसपछि सरकार र प्रतिनिधिसभाले यो विधेयक पारित गराउनेतर्फ चासो नदेखाएको आरोप लाग्दै आएको छ ।
तपाईको प्रतिक्रिया