काठमाडौँ, ३१ जेठ । निर्वाचन आयोगले असार १ गतेबाट पुनः मतदाता नामावली संंकलन तथा अद्यावधिक कार्य सुरु गर्न लागेको छ ।
आयोगले मंगलबार पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी दिएको हो ।
मतदाता नामावलीमा नाम दर्ता कार्य देशका सबै निर्वाचन कार्यालयहरू, सबै जिल्ला प्रशासन कार्यालय र ७३ वटा इलाका प्रशासन कार्यालयबाट हुने पनि आयोगले जानकारी दिएको छ ।
सर्वसाधारणले अस्थायी बसोबास गरेको ठाउँबाट समेत निजको स्थायी ठेगानाका विवरण दिएर नाम दर्ता गराउन सक्ने छन् ।
पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मिति, लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकारी) ले आवश्यक निर्णय गरी त्रुटि सच्याउने समेत उनले जनाए ।
प्रवक्ता पौडेलेका अनुसार कुनै मतदाताले विवाह वा बसाई सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछ ।
कुनै मतदाताले आफ्नो नाम रहेको मतदान स्थलवाट पायक पर्ने सोही वडाको अर्को मतदान स्थलमा नाम सार्न निवेदन दिएमा सोही बमोजिम स्थानान्तरण गरिदिने पनि उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया