काठमाडौँ, १ असार । कुमारी आमा निहारिका राजपुतको विषय संसदमा प्रवेश पाएको छ ।
आफूमाथि बलात्कार भएको र त्यसबाट जन्मेको बच्चा २१ महिना हुँदासमेत न्याय नपाएको भन्दै काठमाडौँमा ६ दिनदेखि आमरण अनशनमा बसेकी महोत्तरीकी निहारिकाको विषय संसदमा प्रवेश गरेको हो ।
बुधबार बसेको प्रतिनिधिसभामा सांसद थममाया थापाले निहारिकालाई न्याय दिन सदन र सरकारको ध्यानाकर्षण गराइन् ।
‘१७ वर्षको हुँदा नशालु पदार्थ खुवाएर शिवराम श्रेष्ठले बलात्कार गरेको र सो बलात्कारबाट रहेको गर्भबाट जन्मिएको बच्चा २१ महिना भइसकेको छ । तर, उनले न्याय पाइनन्,’ बैठकमा उनले भनिन्, ‘ यही विषयमा राज्यका सबै संयन्त्रमा न्यायको भीख माग्दा न्याय पाइनन् । उनी अहिले राजधानीमा काखमा दूधे बालक च्यापेर न्यायको भीख मागिरहेकी छिन् । आमरण अनशन बसिरहेकी छन् । जुन राज्यका लागि लाजमर्दो घटना हो ।’
निहारिका पाँचबुँदे माग राखेर आमरण अनशन बसेकी हुन् ।
अभियुक्त धनुषा महेन्द्रनगरका शिवराज श्रेष्ठलाई जिल्ला अदालतले सफाई दिएपछि निहारिकाले निरन्तर संघर्ष गर्दै आएकी छन् ।
‘बच्चा बलात्कारबाट जन्मेको हो । डीएनए टेष्ट किन गरिएन ? एकपक्षीय फैसला आएको हो । मेरो अनुपस्थितिमा शिवराज श्रेष्ठलाई सफाइ दिइयो ।’ भनेर उनले भन्दै आएकी छन् ।
न्यायाधीश पर्शुराम भट्टराईले मुद्दामा अभियोग दाबी नपुगेको ठहर गर्दै आरोपी श्रेष्ठलाई २०७८ माघ २४ गते सफाई दिएका थिए ।
महोत्तरी जलेश्वरकी निहारिकाका २१ महिनाको छोरो छ । श्रेष्ठले आफूलाई प्रेममा पारी शारीरिक सम्बन्ध बनाएको तर, गर्भवती भएपछि विवाह नगरेको उनको आरोप छ । शिवराजको परिवारले बच्चा फाल्न पटक–पटक दबाब दिए पनि आफूले बच्चा जन्माएको भन्दै आएकी छन् ।
न्यायको माग गर्दै अदालतमा मुद्दा दिएसँगै शिवराज डेढ वर्षसम्म फरार भएका थिए । त्यसपछि अदालतमा हाजिर भएका उनी केही महिनादेखि थुनामा थिए । जिल्ला अदातलले भने शिवराजलाई सफाइ दिएपछि निहारिका र अधिकारकर्मी न्याय मरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
तपाईको प्रतिक्रिया