निजगढ, २ असार । मुख्यमन्त्री लालबाबु राउतले दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ कुनै पनि बहानामा सार्न नमिल्ने बताएका छन् ।
निजगढमा विमानस्थल बन्नुपर्ने मांग गर्दै आन्दोलनरत निजगढ सार्वजनिक सरोकार समितिसँगको साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश प्रदेशको विकासका लागि अतिमहत्वपूर्ण निजगढ विमानस्थान सार्ने खेल आफूहरूलाई स्वीकार्य नहुने बताएका हुन् ।
सर्वोच्च अदालतको फैसलाको पूर्ण अझै आइनसकेकोले नआतिन निजगढवासीलाई आग्रह गर्दै मुख्यमन्त्री राउतले पूर्ण पाठमा सकारात्मक सन्देश आउने विश्वास व्यक्त गरे ।
उनले भने, 'निजगढ विमानस्थल बन्नुपर्नेमा हामी दृढ छौँ, तर विमानस्थलको नाममा अनावश्यक रुख कटानी गर्न दिदैनौँ । विश्वको सबैभन्दा ठूलो विमानस्थल होइन, नेपालका लागी सुहाउँदो विमानस्थल बनाउनका लागि प्रदेश सरकार हरसम्भव प्रतिबद्ध छ ।
विमानस्थलको नाममा जंगल नै सिद्धाउने चलखेल हुँदै आएकोप्रति निजगढवासीलाई सचेत गराउँदै मुख्यमन्त्री राउतले निजगढ विमानस्थलको निर्माण प्रक्रिया कागजमा मात्र नभई सतहमा सुरु गर्न/गराउनका लागि दबाब दिन आग्रहसमेत गरे ।
निजगढवासीले केही दिन यता जारी राखेको चक्काजाम सहितको आन्दोलन तत्कालका लागि स्थगन गर्न आग्रह गर्दै मुख्यमन्त्री राउतले भने, 'सर्वोच्चको पूर्ण पाठ नआउञ्जेलसम्मका लागि आन्दोलन स्थगित गर्नुस् । पूर्ण पाठ हाम्रै पक्षमा आउँछ भनेमा विश्वस्त छु । विपक्षमा आए फेरि आन्दोलन गरौँला ।
मुख्यमन्त्री राउतले रिले अनसनमा बसेका आन्दोलनकारीहरूसमेतलाई भेटेपछि सरोकार समिति चक्काजाम कार्यक्रम आजैबाट स्थगित गरेको छ भने रिले अनसनलाई निरन्तरता नै दिने जनाएको छ ।
तपाईको प्रतिक्रिया