काठमाडौँ, ३ असार । सरकारसँग सहमति भएपछि कुमारी आमा निहारिका राजपुतले अनशन तोडेकी छन् ।
न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि काठमाडौँमा आमरण अनशनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका–९ की सोनालीकुमारी सिंह (निहारिका राजपुत) र सरकारकारबीच पाँचबुँदे सहमति भएको हो ।
राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सहमति भएपछि गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस खाएर गएराति निहारिकाले अनशन तोडेकी हुन् ।
प्रतिवादी शिवराम श्रेष्ठ र अनशनकर्ता निहारिकाका छोराको डीएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनशनकर्ता र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनशनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, राज्यका सम्पूर्ण निकायका कानुन पीडितमैत्री बनाउन पहल गर्नेलगायत सहमति भएको छ ।
सहमतिपत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनशनकर्ता निहारिकालगायतले हस्ताक्षर गरेका छन् ।
अभियुक्त धनुषा महेन्द्रनगरका शिवराज श्रेष्ठलाई जिल्ला अदालतले सफाई दिएपछि निहारिकाले निरन्तर संघर्ष गर्दै आएकी छन् ।
‘बच्चा बलात्कारबाट जन्मेको हो । डीएनए टेष्ट किन गरिएन ? एकपक्षीय फैसला आएको हो । मेरो अनुपस्थितिमा शिवराज श्रेष्ठलाई सफाइ दिइयो ।’ भनेर उनले भन्दै आएकी छन् ।
न्यायाधीश पर्शुराम भट्टराईले मुद्दामा अभियोग दाबी नपुगेको ठहर गर्दै आरोपी श्रेष्ठलाई २०७८ माघ २४ गते सफाई दिएका थिए ।
निहारिकाका २१ महिनाको छोरो छ । श्रेष्ठले आफूलाई प्रेममा पारी शारीरिक सम्बन्ध बनाएको तर, गर्भवती भएपछि विवाह नगरेको उनको आरोप छ । शिवराजको परिवारले बच्चा फाल्न पटक–पटक दबाब दिए पनि आफूले बच्चा जन्माएको भन्दै आएकी छन् ।
न्यायको माग गर्दै अदालतमा मुद्दा दिएसँगै शिवराज डेढ वर्षसम्म फरार भएका थिए । त्यसपछि अदालतमा हाजिर भएका उनी केही महिनादेखि थुनामा थिए । जिल्ला अदातलले भने शिवराजलाई सफाई दिएपछि निहारिका र अधिकारकर्मी न्याय मरेको भन्दै आन्दोलनमा उत्रिएका थिए ।
तपाईको प्रतिक्रिया