जनकपुरधाम, ३ असार । धनुषाामा आठ महिनाअघि प्रेमविवाह गरेकी युवतीले घर लैजान अनुरोध गर्दा श्रीमानले करेन्ट लगाएर भागेको घटना सार्वजनिक भएको छ ।
प्रेम विवाह गरेकी सिन्धुली गोलञ्जर गाउँपालिका–२ की २२ वर्षीया राधिका कार्की श्रीमानले दिएको यातनाका कारण अस्पतालमा छट्पटाउन बाध्य भएकी हुन् ।
उनलाई अहिले दुःखको घडिमा साथ दिने न त उनका परिवार छ, न त अन्य आफन्त नै । प्रेम विवाह गरेर आफनो सुन्दर भविष्यको परिकल्पना गरेकी उनलाई अहिले श्रीमानले दिएको चरम शारीरिक यातनाले अस्पतालको शैयासम्म पुर्याएको छ ।
पति धनुषाको सखुवा महेन्द्रनगर घर भई जनकपुरधामको थापा चोकमा बस्दै आएका अरुण साहसँग करिब एक वर्षको चिनजानपछि आठ महिनाअघि प्रेम विवाह भएको थियो ।
विवाहपछि थापा चोकमा डेरामा उनीहरू बस्दै आएका थिए । विवाहपछि कोठा लिएर बस्दै आएको र श्रीमानलाई आफ्नो घर लैजान भनेपछि करेन्ट लगाएर चरम यातना दिएको उनको आरोप छ ।
‘समान्य विवाद भएको थियो । अरुणले एकाएक बिजुलीको तार बोर्डमा जोडेर पहिला मेरो खुट्टामा करेन्ट लगाए । म बेहोस भएपछि कहाँ के गर्यो । मलाई थाहा भएन । कसरी हस्पिटल पुगेँ, त्यो पनि थाहा पाइनँ । होस् आउँदा दुवै गोडा, हात र पेटमा करेन्ट लगाएका रहेछन्,’ राधिकाले भनिन् ।
गत १६ जेठमा भएको सो घटनापछि राधिका गम्भीर घाइते भइन् । प्रहरीले उनलाई उद्धार गरी अस्पताल भर्ना गरेको थियो । उनी १६ दिनदेखि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएर उपचाररत छन् ।
विवाह गरेर ल्याएको सुरुका दिनमा अरुणले उनलाई राम्रै व्यवहार र हेरविचार गरेका थिए । सुरुका दिनमा आफूलाई घर खर्च चलाउन पैसा दिने गरेको बताएकी उनले जानकी मेडिकल र सिटीपार्क होटलको क्यान्टिनमा आफूलाई कामसमेत लगाइदिएको बताइन् ।
उनलाई अहिले अस्पतालका नर्स र सुरक्षाकर्मीहरूले नै हेरचाह र खाना खुवाउने औषधि दिने काम गरिरहेका छन् । उपचारमा संलग्न चिकित्सक डा. आश्विनी यादवका अनुसार राधिकाको दुवै हात, दुवै खुट्टाा र पेटमा उनलाई करेन्ट लागेको गहिरो खत छ भने शरीरका केही भाग पनि जलेका छन् ।
घटना भएदेखि नै अरुण फरार छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले छिमेकीले खबर गरेपछि उनलाई उद्धार गरेर अस्पताल लगेको जानकारी दिए । घटनाको आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका क्षेत्रीले जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रियालाई अगाडि बढाइने बताए ।
तपाईको प्रतिक्रिया