काठमाडौँ, ५ असार । बलियो नेपाल कप यू–१५ क्रिकेट प्रतियोगिता २०७९ को उपाधि मधेश प्रदेशले जितेको छ ।
बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा जारी प्रतियोगिताको फाइनलमा बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै मधेश प्रदेशले उपाधि हात पारेको हो ।
मुलपानी मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ्गको गरेको बागमतीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९५ रन बनाएको थियो ।
बागमतीका लागि आकाश टमाटाले २३ रन जोड्न बाहेक अन्य ब्याट्स्म्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
मधेशका साईमन रोएले ४ ओभरमा केवल १० रन खर्चिएर २ विकेट लिए ।
जवाफमा ९६ रनको लक्ष्य मधेशले १५.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । मधेशको जितमा खेलको प्लेयर अफ दि म्याच रञ्जन यादवले ३४ रनको इन्निंग खेले ।
बागमतीका कप्तान युवराज खत्रीले १६ रन खर्चिएर ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।
प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट मधेश प्रदेशका साईमन रोए घोषित भए भने बलियो-११ का जेनिश मगर, कमल शाही र बागमती प्रदेशका युवराज खत्री प्रतियोगिताको इमार्जिंग खेलाडी घोषित भए ।
विजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
तपाईको प्रतिक्रिया