नागरिकता विधेयकमा सहमति जुटाउन गृहमन्त्री सक्रिय, अध्यक्ष नेपालसँग भेट

समाचार

काठमाडौँ, ५ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग गृहमन्त्री बालकृष्ण खाँणले भेटवार्ता गरेका छन् । 

एकीकृत समाजवादी पार्टी कार्यालय आलोकनगरमा भएको भेटवार्तामा गृहसचिव टेकनारायण पाण्डे र गृह मन्त्रालयका कानुन हेर्ने सहसचिव कोमल खत्री पनि सहभागी थिए ।

भेटमा नागरिकता विधेयक चालु संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गरेर पास गर्ने तयारीस्वरूप दलका शीर्ष नेतृत्वसँग छलफल गरिरहेको छ । 

गृहमन्त्री खाँणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरेका छन् ।

उनले यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, नेकपा माओवादी  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नागरिकता विधेयकका बारेमा परामर्श गरिसकेका छन् । 

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास भई हाल प्रतिनिधिसभामा छ ।

नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने अङ्गीकृत नागरिकतालगायतमा विषयमा सहमति जुट्न सकेको छैन । 

विधेयक पारित गर्न विलम्ब हुँदा जन्मसिद्ध नागरिकका सन्तान अत्यधिक पीडामा छन् । बुवाआमा नेपाली नागरिक हुँदासमेत उनीहरू अनागरिकको जीवन बिताउन बाध्य छन् । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ