काठमाडौँ, ६ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मक्कामदिना जान लागेका हजयात्रीलाई बिदाइ गरेका छन् ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री कार्कीले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्कामदिनामा हज गर्न जाने १०९ हजयात्रीलाई बिदाइ गरेका हुन् ।
मन्त्री कार्कीले सुनसरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीसहितका हजयात्रीलाई दोसल्ला ओढाएर बिदाइ गरेका छन् ।
हजयात्राका लागि पहिलो दिन सुनसरीबाट ७९, मोरङबाट २४, झापाबाट तीन, प्रतिनिधि दुई र चिकित्सक एक जना त्यसतर्फ गएका छन् ।
हजयात्री साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्का मदिना पुग्ने नेपाल हज समितिले जनाएको छ ।
हरेक वर्ष एक हजार २०० जनालाई हज यात्राका लागि व्यवस्थापन गर्ने भनिए पनि कोभिड–१९ को प्रभावका कारण यस वर्ष ५४८ जनाको कोटा निर्धारण गरिएको समितिका सदस्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।
मङ्गलबारदेखि पाँच दिनसम्ममा क्रमशः सबै हजयात्री मक्कामदिना प्रस्थान गरिसक्ने समितिले जनाएको छ ।
तपाईको प्रतिक्रिया