भारत गौरव पर्यटक रेल जनकपुरधाम आइपुग्यो, पर्यटकको भव्य स्वागत

समाचार

जनकपुरधाम, ९ असार । धार्मिक पर्यटक बोकेको श्री रामायण यात्रा भारत गौरव पर्यटक रेल जनकपुरधाम आइपुगेको छ । भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ हिँडेको यो रेल बिहीबार दिउँसो जनकपुरधाम आइपुगेको हो ।

जनकपुरधामस्थित रेल्वे स्टेशनमा नेपाल र भारतका प्रतिनिधिहरूले पर्यटकहरूलाई भव्य स्वागत गरेका छन् । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, जनकपुरधामका मेयर मनोजकुमार शाह, नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झा, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तव, वीरगन्जस्थित भारतीय महावाणिज्य दूत नितेश कुमारलगायतले पर्यटकलाई स्वागत गरेका छन् ।

भव्य स्वागतले पर्यटकहरू हर्षित भएका थिए ।

रेलमा करिब ५०० भारतीय पर्यटक आएका हुन् । उनीहरूले जनकपुरधामका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने छन् । पर्यटकहरूले जानकी मन्दिरको दर्शन गर्ने छन् । जानकी मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम हेर्ने तथा गंगा आरतीमा सहभागी हुने कार्यक्रम छ ।

यो भारत र नेपालमा रामायण सर्किट कभर गर्ने आफ्नो प्रकारको पहिलो पर्यटक रेल हो । पर्यटकहरू रामायण सर्किट रुटमा अगाडि यात्राका लागि सडक मार्गबाट सीतामढी जाने छन् ।

यो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोक कलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायत चित्र कोरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ