काठमाडौं, ९ असार । भारतीय सेना प्रमुख मनोज पाण्डे आगामी अगस्टमा नेपाल भ्रमणमा आउने भएका छन् । पाण्डे नेपाली सेनाको ‘मानार्थ महारथी’ को सम्मान ग्रहण गर्न आउने भएका हुन् ।
नेपाली सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको ‘मानार्थ महारथी’ पदबाट विभूषित गर्नेछिन् ।
नेपाल र भारतबीच एक अर्काका सेना प्रमुखलाई ‘मानार्थ महारथी’ को सम्मान दिने अभ्यास छ । प्रधानसेनापति शर्मा गत नोभेम्बर ९ देखि १२ सम्म तत्कालीन भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवाणेको निम्तामा भारत भ्रमणमा गएका थिए । उनलाई भारतीय सेनाको ‘मानार्थ महारथी’ बाट सम्मान गरिएको थियो ।
यसअघि भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले भारतीय सेना प्रमुख मनोज पाण्डेसँग गरेको भेटवार्तामा पनि पाण्डेको नेपाल भ्रमणबारे कुराकानी भएको थियो । भेटमा पाण्डेले नेपाल भ्रमणमा जान प्रतीक्षारत रहेको बताएका थिए । । पाण्डे अप्रिल १८ मा भारतीय सेनाको प्रमुख नियुक्त भएका थिए ।
नेपाली सेना र भारतीय सेनाबीच लामो समयदेखि विभिन्न क्षेत्रमा सहकार्य रहँदै आएको छ । गत मे ४ मा प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय समकक्षी पाण्डेबीच भिडिओ कन्फ्रेन्समार्फत कुराकानी भएको थियो । त्यस क्रममा शर्माले पाण्डेलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
तपाईको प्रतिक्रिया