विराटनगर, १० असार । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि बढीमा ३ अर्ब ७० करोड रुपैयाँको बजेट शुक्रबार सार्वजनिक गर्दैैछ ।
महानगर प्रमुख नागेश कोइरालाका अनुसार बजेटले साविक करमा एक पैसा पनि नबढाउने रकरका दायरा बढाउने प्रयास भइरहेको छ ।
यो बजेट चालु वर्षको तुलनामा करिब ९० करोडले न्यून हुने छ । चालु वर्ष महानगरले संशोधित ४ अर्ब ६० करोडको बजेट परिचालन गर्दा तोकिएको शीर्षकमा आम्दानी गर्न नसक्दा बजेट प्रभावित भएपछि आगामी वर्षको बजेटको आकार घटाएको जनाइएको छ ।
महानगरको नीति तथा कार्यक्रमले करका दायरा बढाउने प्रयास गर्दै चालु वर्ष कायम भएका करमा एक रुपैयाँ पनि बढाएको छैन । केही शीर्षकमा कर घटेको पनि छ । यो बजेटले अघिल्ला जनप्रतिनिधिको एक अर्बभन्दा बढी दायित्व पनि धान्नुपर्ने स्थिति रहेको महानगरपालिकाले जनाएको छ ।
बजेटले महानगरका १९ वडालाई ४१ करोड बजेटको व्यवस्था गरेको छ । हरेक वडालाई न्यूनतम २ करोड बजेट छुट्याइएको छ ।
अनुमानित बजेटको करिब ८८ प्रतिशत पुँजीगततर्फ र १२ प्रतिशत बजेट कार्यक्रम सञ्चालन र प्रशासनिक खर्च हुने अनुमान गरिएको छ ।
अनुमानित बजेटको स्रोत व्यवस्थापनका लागि महानगरको आगामी वर्ष आन्तरिक आय एक अर्ब गर्ने लक्ष्य राखेको छ । बजेटको स्रोत व्यवस्थापनका लागि महानगरले अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ संघीय सरकारबाट १ अर्ब २१ करोड, विशेष अनुदान ४ करोड, ससर्त अनुदान ७२ करोड १७ लाख र प्रदेश सरकारबाट ससर्त अनुदान ९० लाख पाउने अनुमान गरेको छ ।
तपाईको प्रतिक्रिया