विमल विष्ट, कैलाली, १२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानु पर्ने दिनको अन्त्य भएको बताएका छन् ।
कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरिने टर्मिनल भवन सुधार, ब्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यान्टिन र गेट निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री आलेले सुदूरपश्चिमका यात्रुहरुले प्लेन आउने नआउने विषयमा काठमाडौँबाट जानकारी लिनु पर्ने अवस्थाको अन्त भएको बताएका हुन् ।
उनले भने, “जहाज सञ्चालन कम्पनीले जहाँबाट वेस लिएको छ, यहिबाट पहिलो उडान भर्नु पर्ने नियम लागु गराएको छु, अब धनगढीबाट पनि पहिलो उडान हुने छ, जहाज आउने नआउने बारे काठमाडौँमा सोध्नु पर्ने छैन् ।”
असार १३ गतेबाट लागु हुने गरी आफ्नो बेस लिएका ठाउँबाट विमान सञ्चालक कम्पनीहरुले आफ्नो पहिलो उडान भर्नु पर्ने निर्णय लागु भएको जानकारी गराउँदै मन्त्री आलेले अब गेटा विमानस्थलबाट पनि पहिलो उडान हुने बताए ।
उनले थप भने, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङका लागि समस्या थियो, जहाज टाँसिएर पार्किङ गरिने हुँदा ठोकिएको खण्डमा ठूलो दुर्घटना हुन सक्ने भएकाले जहाज सञ्चालक कम्पनीले बेस लिएका ठाउँबाट पहिलो उडान भर्न र नाइट स्टपका लागि पनि त्यहि जान हामीले निर्णय गरेका छौँ, अब गेटा विमानस्थलमा पनि नाइट स्टपका लागि जहाज पार्किङ हुने छन् ।”
तपाईको प्रतिक्रिया