सिरहा, १२ असार । सिरहाको लहानमा गोली प्रहारबाट एक जना घाइते भएका छन् ।
लहान नगरपालिका-२२ बेलीजटियाही टोलमा गोली चलेको हो । घटनामा संग्लन रहेका दुई जनालाई पक्राउ परेको प्रहरीले जनाएको छ।
आज बिहान पौने ९ बजेतिर रबिन्द्र चौधरीको घरको माथिल्लो तल्लामा स्थानीय १९ वर्षीय सुशान्त चौधरी, १५ वर्षीय सुरज मुखिया र १८ वर्षीय दिलिप मुखिया बसिरहेको थिए।
ख्याल-ख्यालमै सुशान्तले गोली चलाउँदा दिलिपको पेटमा गोली लागेको प्रहरीले जनाएको छ।
गोली चलेको धेरै बेरपछि प्रहरीलाई स्थानीयले खबर गरेको थिए । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय लहानको प्रमुख डीएसपी कुमारप्रसाद मैनाली घटनास्थल पुगेर छानबिन गरिरहेको छ।
प्रहरीले सुशान्त र सुरजलाई नियन्त्रणमा लिएको छ। घाइते दिलिपलाई उपचारका लागि धरान पठाएको छ।
प्रहरीले कटुवा पेस्तोल १ थान, ७.६५ एमएम लेखिएको गोली ५ राउन्ड, म्यागजिन १ थान, गोलीको खोखा एक थान बरामद गरेको छ।
तपाईको प्रतिक्रिया