काठमाडौं, १२ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन भएको एक वर्ष पुग्दैछ, तर केन्द्रीय कार्यकारिणी समितिबाहेक अन्य कुनै पनि समिति वा भ्रातृ संगठन अथवा जनवर्गीय संगठनहरु निर्माण नहुँदा नेता कार्यकर्ताहरु अलपत्र परेका छन् ।
जसपाबाट अलग भई महन्थ ठाकुरको नेतृत्वमा लोसपा नेपाल गठन भएको थियो । लोसपाले केही महिना अगाडि २८ वटा जनवर्गीय संगठनको नामाकरण गरेपछि कसैलाई जिम्मेवारी तोकेको छैन ।
नेता कार्यकर्ताहरु जिम्मेवारीविहीन हुँदा लोसपामा आफ्नो राजनीतिक भविष्य नरहेको भन्दै धेरै नेता कार्यकर्ताहरु पार्टी परित्याग गरिसकेका छन् भने अधिकांश निष्क्रिय अवस्था छन् ।
कतिपय नेता कार्यकर्ताहरु अन्य पार्टी प्रवेश गर्ने तयारीमा समेत रहेका छन् । लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेपनि केन्द्रीय समिति वा जनवर्गीय संगठनहरुको जिम्मेवारी बाँडफाँड गर्न सकेको छैन ।
यसैगरी, विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा होमिएका विद्यार्थी संगठनका पूर्वअध्यक्ष मनिष मिश्रले पार्टीले छिट्टै नेता कार्यकर्ताहरुलाई जिम्मेवारी दिनुपर्ने धारणा राखेका छन् ।
उनले जिम्मेवारीविहीन हुँदा पार्टीले कुनै गतिविधि अगाडि बढाउन नसकेको गुनासो गरेका छन् । हालै सम्पन्न स्थानीय तहको चुनावमा लोसपाले क्षति व्यहोर्नुको मूल कारण समिति र संगठनहरु निर्माण नहुनु रहेको उनको तर्क छ ।
पार्टी नेतृत्वप्रति नेता कार्यकर्ताहरुको असन्तुष्टि बढ्दै गएको छ । प्रदेश र संघको चुनाव पनि आउँदैछ । आगामी चुनावसम्म पनि संगठनको कार्यहरु अगाडि नबढे पार्टीले धेरै क्षति व्यहोर्नुपर्ने उनले बताएका छन् ।
छिटोभन्दा छिटो लोसपाले केन्द्रीय समिति, जनवर्गीय संगठनहरुलाई पूर्णता दिनुपर्ने माग नेता मिश्रले गरेका छन् । पार्टीलाई चलायमान बनाउन जिम्मेवारी दिनुपर्ने उनको तर्क छ ।
तपाईको प्रतिक्रिया