काठमाडौं, १३ असार । छिमेकी राष्ट्र चीनले गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा तारबार लगाएको विरोधमा राष्ट्रिय एकता अभियानले सोमबार राजधानीमा प्रदर्शन गरेको छ । दशगजाभित्रै चीनले तारवार लगाएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।
माइतिघरबाट सुरु भएको विरोध रैली चीन विरोधी नारा लगाउँदै नयाँ बानेश्वर पुगेको थियो । विरोध रैलीमा ‘गो ब्याक चाइना, चिनियाँ विस्तारवाद बन्द गर, मिचिएको भूमि फिर्ता गर, चिनियाँ हस्तक्षेप बन्द गर, अघोषित नकाबन्दी खुल्ला गर’ लगायतका नारा लगाईएको थियो ।
बानेश्वरमा आयोजित कोणसभालाई अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले सम्बोधन गरेका थिए ।
उनले चीनले दशगजामै तारवार र भौतिक संरचना बनाउँदासमेत नेपाली प्रशासन मुकदर्शक भएर बसेको भन्दै आक्रोश ब्यक्त गरेका थिए । तर, गोरखाका सिडिओ शंकरहरि आचार्यले भने त्यस विषयमा आफूलाई जानकारी नभएको बताएका छन् ।
सीमा सम्बन्धी अन्तरििाष्ट्रय मान्यता अनुसार दशगजा क्षेत्रमा कुनै पनि संरचना बनाउन वा तारवार लगाउन पाइदैन । त्यसका लागि दुई पक्षीय सहमति आवश्यक पर्छ । तर, रुईला नाकामा चीनले दशगजा क्षेत्रभित्र तारबार लगाएको स्थानीयको दाबी छ ।
दशगजामा तारबार लगाएपछि नेपाल–चीन आवतजावत बन्द छ । अत्यावश्यक दैनिक उपभोग्य सामग्री ल्याउन पनि समस्या परेको स्थानीयको गुनासो छ । त्यहाँ चीनले सीसी क्यामेरा राखेर निगरानी समेत गर्ने गरेको छ ।
यसअघि चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित ङुइला नाकामा पनि चीनले तारबार लगाएको थियो । तर, पछि त्यसलाई हटाइयो ।
तपाईको प्रतिक्रिया