वीरगन्ज, १३ असार । बारा जिल्लाको सबैभन्दा पहिलो कृपा दैनिक पत्रिकाका प्रधान सम्पादक नवराज उपाध्यायको ८४ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ ।
लामो समय राजनीति र शिक्षण पेशामा सकृय उपाध्यायको सोमबार बिहान ३ बजेर ३५ मिनेटमा वीरगन्ज महानगरपालिका वडा नम्बर १३ स्थित आफ्नै निवास निधन भएको उहाँका सुपुत्र एवम् कृपा दैनिक पत्रिकाका संस्थापक सम्पादक कमलकुमार उपाध्यायले जानकारी दिए ।
वीरगन्जस्थित निलकण्ड अस्पतालको आइसियु कक्षमा उपचाररत् उपाध्यायलाई आइतबार दिउँसोमात्रै निवासमा ल्याइएको होे ।
गत गते मास्तिष्कघात भएपछि उपाध्ययालाई काठमाण्डौंको अन्नपूर्ण न्युरो र नागरिक अस्पतालको आइसियु कक्षमा महिनासम्म राखेर उपचार गरिएको थियो । उपाध्याय लामो समयदेखि दम रोगबाट समेत पिडीत हुँदै आएका थिए ।
स्वर्गीय उपाध्यायको हिन्दू परम्पराअनुसार रौतहटको बागमतीमा सोमबार दिउँसो अन्त्येष्टी गरिएको छ । उहाँको पार्थिक शरिरमा माइला छोरा समेत रहेका कमल उपाध्यायले दागबत्ती दिएका हुन् ।
नेकपा एमालेका तर्फबाट एमाले प्रदेश कमिटीका सदस्य बसरुद्धिन अंसारी, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी,वीरगन्ज महानगरपालिका वडा नम्बर १३का वडा अध्यक्ष हीरा गिरी,एमाले प्रदेश कमिटीकै सदस्य सुर्दशन कोइरालाले नेकपा एमालेको झण्डा ओढाएर सम्मान गरेका थिए ।
स्वर्गीय उपाध्यायको तीन छोरा र दुई छोरी रहेका छन् । उनका जेष्ठ सुपुत्र किरणकुमार र जेष्ठ सुपुत्री सुधा हाल अमेरिकामा छन् भने कान्छा छोरा कुन्दन बेलायतको सरकारी कर्मचारीको रुपमा कार्यरत छन् । कान्छी छोरी सुष्मा वीरगन्जस्थित एक शिक्षण संस्थामा शिक्षण पेसामा छन् ।
उपाध्यायको शिक्षक यात्रा
१९९६ साल साउन २८ गते पर्सा जिल्लाको जगरनाथपुरमा जन्मनु भएका उपाध्यायले लामो समय शिक्षण पेशालाइ संगाल्नु भएको छ । सर्लाही, रौतहट, बारा र पर्सामा गरेर उनले एक दर्जनको हाराहारीमा रहेका विद्यालयहरुमा शिक्षण गर्नु भएको थियो । भारतको बनारस यूनिभर्सरसिटीबाट आचार्य उत्तीर्ण गर्नु भएका उपाध्यायले वीरगन्जको श्रीपुर माविमा लामो समय प्रधानाध्यापकको रुपमा रही सेवा गर्नु भएको थियो ।
पर्साकै बिरन्चीवर्वा र वीरगन्जको माइस्थान माविमा सेवा गर्नु भएका उपाध्यायले श्रीपुर माविमा भने प्रअको जिम्मेवारी निभाउनु भएको हो । नेकपा एमाले निकटको शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्षा रहेर उहाँले संगगठनको जिम्मेवारी पूरा गर्नु भएको थियो ।
जेल जीवन
शिक्षक संगठनमा रहेर काम गर्दा गर्दै उहाँलाइ तत्कालिन पंचायतका शासकहरुले पटक पटक नियन्त्रणमा लिएर थुनामा राखेका थिए । शुरुबाट नै कम्यूनिष्ट राजनीतिमा सकृय उपाध्यायलाई पंचायत शासकहरुले २०३६, २०४२ र २०४४ सालमा पक्राउ गरी हिराशतमा राखेको थियो ।
जनताको सेवक : वडा अध्यक्ष
शिक्षण पेशाबाट अवकास भएपछि २०५४ सालमा सम्पन्न भउको स्थानीय तहको चुनावमा उहाँले जनताको जित्दै वडा अध्यक्ष बन्न सफल हुनु भएको थियो । नेकपा एमालेका तर्फबाट वीरगन्ज महानगरपालिकाको तत्कालिन वडा नम्बर १६ को उहाँले वडा अध्यक्षको जिम्मेवारी निर्वाह गर्नु भएको थियो । त्यसअघि पनि उहाँले २०३० सालमा पनि वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो । त्यत्तिबेला शिक्षक पनि चुनावमा उठ्न पाउने ब्यवस्थाको सदुपयोग गर्दै उहाँले वीरगन्जको तत्कालिन वडा नम्बर १४को वडा अध्यक्षमा बिजयी हुनु भएको थियो ।
प्रधानसम्पादकको भूमिका
२०६० सालमा बारा जिल्लाको सबैभन्दा सबैभन्दा पहिलो दैनिकको रुपमा कृपा दैनिक प्रकाशित भएपनि उपाध्याय अभिभावकीय भूमिकामा रहनु भएको थियो । कृपा दैनिकमा २०६० साल फागुन ७ गतेबाट नै उहाँ प्रधानसम्पादकको रुपमा रहनु भएको थियो ।
स्वर्गीय उपाध्यायले भारत सहित अमेरिका र बेलायत लगायतका देशहरुको पनि भ्रमण गर्नु भएको थियो ।उहाँको नवप्रज्ञापन भन्ने पुस्तक समेत प्रकाशित भएको छ । उहाँकी धर्मपत्नी उमादेवी उपाध्यायको भने २०७१ साल साउन १६ गते नै निधन भइसकेको थियो ।
तपाईको प्रतिक्रिया