मोरङ, १४ असार । आफ्नै स्कूलको बसले ठक्कर दिँदा मंगलबार मोरङको रंगेलीमा चार वर्षीय एक छात्रको मृत्यु भएको छ भने अर्की ६ वर्षकी छात्रा घाइते भएकी छन् ।
रंगेलीस्थित माउन्टेन मकालु बोर्ङिङ स्कूलको बसले ठक्कर दिँदा नर्सरीमा पढिरहेका रङ्गेली–५ का महादेव मण्डलका छोरा ४ वर्षका हृतिक मण्डलको मृत्यु भएको छ ।
स्कूल बसको ठक्करले घाइते बालकलाई उपचारका लागि स्वास्थ्य केन्द्र पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही स्कूलमा एलकेजीमा अध्ययनरत रङ्गेली–६ का नरेश मण्डलकी छोरी ६ वर्षीया सुनमकुमारी मण्डल गम्भीर घाइते भएकी छन् ।
उनको विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
को. १ क ११३० नम्बरको स्कूल बसले दिउँसो ४ बजेतिर उनीहरू दुई जनालाई ठक्कर दिएको थियो । स्कूल सकिएपछि घर जाँदै गरेका बालबालिकालाई स्कूल अगाडि नै बसले ठक्कर दिएको थियो ।
प्रहरीले बस नियन्त्रणमा लिएको छ भने चालक भने फरार भएका छन् ।
तपाईको प्रतिक्रिया