जनकपुरधाम, १५ असार । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मधेश प्रदेशमा दिन प्रतिदिन बढ्दो हिंसात्मक एवम् गलत क्रियाकलापहरुलाई रोक्न मधेश प्रदेशका प्रहरी प्रमुख प्र.ना.म. मसउद आलम खाँलाई निर्देशन दिएका छन् ।
मधेश प्रदेशको अनुगमनमा रहेका अध्यक्ष डा.दत्तले प्रहरी प्रमुख आलमलाई आयोगमा सबैभन्दा धेरै उजुरी मधेश प्रदेशबाट नै आउने गरेकोले आफु र आयोग सो प्रति गम्भीर रहेको बताउँदै यथाशीघ्र उचित रणनीति बनाई सो समस्याहरुलाई प्रभावकारी ढंगले समाधान गरी त्यस्ता गलत क्रियाकलापहरुलाई रोक्न आवश्यक निर्देशन दिए ।
नेपाल–भारत सीमामा बढ्दो लागूऔषधको कारोबार, महिला माथि हुने विभिन्न प्रकारका घरेलु हिँसा, जनताले न्याय पाउन सास्ती भोग्नुपर्ने जस्ता उजुरीहरु आयोगमा आउने गरेको जनाएको छ ।
सो उजुरी माथि आयोगले आफ्नो तरिकाले कारवाहीको प्रक्रिया अगाडी बढाएपनि सम्बन्धित प्रदेशको प्रहरीले जनताको पीडा बुझी आवश्यक तरिकाले सो समस्याहरु समाधान गर्न तर्फ लाग्नुपर्ने अध्यक्ष डा.दत्तले बताए ।
अध्यक्ष डा.दत्तले आयोगले गर्नुपर्ने सहकार्य तथा समन्वयमा कहीँ कतै कमी आउन नदिने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
मधेश प्रदेश प्रहरी प्रमुख आलमले अध्यक्ष डा.दत्तलाई प्रदेशको समग्र वस्तुस्थितिबारे जानकारी गराएका थिए ।
अध्यक्ष डा.दत्तको मधेश प्रदेशको विभिन्न ग्रामिण भेग पुगेर त्यहाँको समस्याहरु स्थलगत रुपमा बुझ्ने कार्यक्रम रहेको अध्यक्ष दत्तको सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया