भारतीय राजदूत श्रीवास्तवद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

समाचार

काठमाडौँ, १६ असार । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

बिहीबार शीतल निवासमा भएको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष भारतीय राजदूत श्रीवास्तवले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

ओहोदाको प्रमाणपत्र पेश गरेपश्चात राजदूत श्रीवास्तवले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरे । भेटमा राजदूत श्रीवास्तवले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश सुनाएका थिए ।

उनले हालै भएको प्रधानमन्त्री देउवाको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको बताए । साथै उनले दुई देशबीचको मैत्री सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । श्रीवास्तव नेपालका लागि भारतका २६ औँ राजदूत हुन् ।

पूर्वराजदूत विनय मोहन क्वात्रा विदेश सचिवको कार्यभार सम्हाल्न २०२२ अप्रिलमा दिल्ली गएपछि श्रीवास्तव नयाँ राजदूतका रूपमा नियुक्त भएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ