४६ लाख रुपैयाँसहित तीन चिनियाँ र एक नेपाली पक्राउ

समाचार

पोखरा, १६ असार । पोखराको ड्यामसाइडबाट झन्डै ४६ लाख रूपैयाँसहित तीन चिनियाँ र एक नेपाली पक्राउ परेका छन्। शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा कास्की प्रहरीले बिहीबार छापा मार्दा ४५ लाख ९७ हजार १८० रूपैयाँसहित उनीहरू पक्राउ परेका हुन्।

पक्राउ परेका व्यक्तीहरूको साथबाट नियन्त्रणमा लिएको नगदको स्रोत उनीहरूले खुलाउन नसकेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्ने नेपाली ककनी गाउँपालिका– ७ का सुमन तामाङ छन्। तीनै जना चिनियाँ नागरिकको भने पहिचान खुलेको छैन। पक्राउ पर्ने चिनियाँहरू दुई पुरुष र एक महिला हुन्। उनीहरूले परिचय खुल्ने कागजात देखाएपछि मात्र वास्तविक पहिचान खुल्ने डिएसपी तिवारीले बताए।

ड्यामसाइडस्थित बज्र इन होटलमा विगत करिब ६ महिनादेखि उनीहरूले कार्यालय सञ्चालन गरेका थिए। तामाङका नाममा खोलिएको डाइमण्ड टेक्नोलोजी कम्पनीले सफ्टवेयर निर्माण गर्ने र व्यवसाय प्रवर्द्धन गर्ने उदेश्य देखिएको डिएसपी तिवारीले बताए। कम्पनीमा काम गर्ने भनिएका चिनियाँ नागरिक पर्यटक भिसामा नेपाल आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

अध्यागमन ऐनले जुन प्रयोजनका लागि नेपाल आएको हो, त्यसबाहेक अन्य काम गर्न रोक लगाएको छ। अहिलेसम्म उनीहरूले कुनै पनि कागजात देखाउन नसकेको डिएसपी तिवारीले बताए।

‘उहाँहरूले आफ्ना पहिचान खुल्ने कागजात र रकमको स्रोत खुलाउने कागजात मगाउँछौं भन्नुभएको छ,’ उनले भने, ‘यस विषयलाई हेर्ने अन्य निकायसँग सहकार्य गरेर अनुसन्धान अघि बढाउँछौं।’

कम्पनीमा ८९ जना नेपाली कर्मचारी रहेको देखिएको छ। उनीहरूलाई प्रहरी अनुसन्धानका लागि आवश्यक पर्दा उपस्थित हुने सर्तमा छाडिएको छ। पक्राउ परेका व्यक्तिहरूबाट केही उपकरण समेत प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूका गतिविधि विस्तृत अनुसन्धान पश्चातमात्र यथार्थ पत्ता लाग्ने डिएसपी तिवारीले बताए। –सेतोपार्टीबाट

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ