जनकपुरधाम, १७ असार । मधेश प्रदेशलाई नेपालकै अन्न भण्डार क्षेत्रको रुपमा लिइन्छ । सबैभन्दा बढी धान उत्पादन मधेशमा हुुँदै आएको छ ।
नेपालमा हुुने कुलधान उत्पादनको २० देखि २५ प्रतिशत उत्पादन मात्रै यस प्रदेशमा हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकले देखाउँछ ।
प्रदेशका आठवटै जिल्ला मिलाएर ५ लाख ५५ हजार २१८ हेक्टर खेतीयोग्य क्षेत्रफल रहेकोमा ४ लाख ५ हजार ४५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुनुपर्ने मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मधश प्रदेशमा यसवर्ष अहिलेसम्म ४३ हजार ८ सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयका बाली विकास अधिकृत मनिष कुमार पालले जानकारी दिएका छन् । देशभर राष्ट्रिय धान दिवस मनाइ रहँदा मधेश प्रदेशमा अहिलेसम्म ११ प्रतिशत रोपाइँ सकिएको छ ।
मन्त्रालयका अनुसार मधेश प्रदेशमा अहिलेसम्म सबैभन्दा बढि पर्सा जिल्लामा रोपाइँ सम्पन्न भएको छ । पर्साको ५४ हजार ७३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार १३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । त्यहाँ अहिलेसम्म ९ हजार ४२६ हेक्टर (२०) प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भईसकेको मन्त्रालयले जनाएको छ ।
सप्तरी जिल्लामा कुल ८१ हजार ६६८ हेक्टर खेतीयोग्य जग्गामध्ये ६८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्दछ । त्यहाँ यसवर्ष १० हजार २ सय हेक्टर (१५ प्रतिशत) क्षेत्रफलमा रोपाइँ भएको हो ।
यस्तै सिरहा जिल्लामा कुल ७३ हजार ९१४ हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टरमा धान रोपाइँ हुने गर्दछ । सिरहामा यसवर्ष ७ हजार ५६० हेक्टर (१४) प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
महोत्तरी जिल्लामा ६७ हजार ३५२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ५ सय हेक्टरमा धान रोपाइँ हुने गरेको छ । त्यहाँ अहिलेसम्म ४ हजार ६५० हेक्टर (१०) प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको छ ।
त्यस्तै, बारामा ६२ हजार ८२३ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ४६ हजार २० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्दछ । अहिलेसम्म बारामा ४ हजार ६०२ हेक्टर (१०) प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
रौतहट जिल्लाको ५३ हजार ५२० हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ३८ हजार १ सय हेक्टरमा धान रोपाइँ हुने गर्दछ । अहिलेसम्म रौतहटमा २ हजार ६६७ हेक्टर (७) प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।
सर्लाहीको ८४ हजार ६७८ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ७ सय हेक्टरमा धान रोपाइँ हुन्छ । यसवर्ष अहिलेसम्म २ हजार ३३५ हेक्टर (५) प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको तथ्यांकमा उल्लेख छ ।
यस प्रदेशमा यसवर्ष सबैभन्दा कम धनुषा जिल्लामा रोपाइँ भएको मन्त्रालयले जनाएको छ । धनुषाको ७६ हजार ५३१ हेक्टर क्षेत्रफलको खेतीयोग्य जग्गामध्ये ५९ हजार हेक्टरमा धान रोपाइँ हुनुपर्नेमा २ हजार ३६० हेक्टर अर्थात ४ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको मन्त्रालयका बाली विकास अधिकृत पालले जानकारी दिए ।
उत्पादनमा कमी
यस प्रदेशमा अहिलेसम्म चैते र बर्षे दुबै मिलाएर १४ लाख १६ हजार ५ सय ८५ मेट्रिक टन धान उत्पादन भएको छ ।
मधेश प्रदेशमा चालु आर्थिक वर्षमा ३.५१ प्रतिशत मेट्रिक टन धान उत्पादन भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । यस प्रदेशमा ४ लाख ३ हजार ६४९ हेक्टर खेतीयोग्य जग्गा रहेको मन्त्रालयका बाली विकास अधिकृत पालले जानकारी दिए ।
मन्त्रालयका अनुसार मधेश प्रदेशमा अहिलेसम्म बारा जिल्लामा सबैभन्दा बढि धान उत्पादन भएको छ । कुल ६१ हजार १२५ हेक्टर खेतीयोग्य जग्गामध्ये सो जिल्लामा २ लाख ५९ हजार ३८१ मेट्रिक टन धान उत्पादन भएको हो । त्यहाँ यसवर्ष प्रतिहेक्टर ४.२४ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको हो ।
यस्तै पर्सा जिल्लामा कुल ३८ हजार ५७० हेक्टर खेतीयोग्य जग्गामा कुल १ लाख ६१ हजार ६९६ मेट्रिक टन धान उत्पादन भएको छ । पर्सामा प्रतिहेक्टर ४.१९ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
सप्तरीमा ५७ हजार ३०४ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामा धान रोपाई गरिएकोमा १ लाख ७० हजार ९०१ सय मेट्रिक टन धान उत्पादन भएको बताईएको छ । त्यस जिल्लामा प्रतिहेक्टर २.९८ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको पालले बताए ।
सर्लाहीको ४४ हजार ७ सय हेक्टर खेतीयोग्य जग्गामा प्रतिहेक्टर ३.३२ प्रतिशत मेट्रिक टनको हिसाबले कुल १ लाख ४८ हजार ४९० मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
धनुषामा ५४ हजार हेक्टर खेतीयोग्य जग्गामा धान रोपाइँ गरिएकोमा प्रतिहेक्टर ३.२१ प्रतिशतको हिसाबले कुल १ लाख ७३ हजार २२० मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, महोत्तरीमा ५१ हजार २ सय हेक्टर क्षेत्रफलमा धान रोपाई गरिएकोमा प्रतिहेक्टर ३.७३ प्रतिशतको हिसाबले कुल १ लाख ९० हजार ८ सय मेट्रिक टन धान उत्पादन भएको हो ।
सिरहामा ५८ हजार हेक्टर खेतीयोग्य जग्गामा धान रोपाइँ गरिएकोमा प्रतिहेक्टर ३.४१ प्रतितको हिसाबले १ लाख ९७ हजार ५५७ मेट्रिक टन धान उत्पादन भएको बताईएको छ ।
यस प्रदेशमा यस वर्ष सबैभन्दा कम रौतहटमा धान उत्पादन भएको मन्त्रालयले जनाएको छ । त्यहाँ ३८ हजार ७५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएकोमा प्रतिहेक्टर २.९६ प्रतिशतको हिसाबले १ लाख १४ हजार ५४० मेट्रिक टन धान उत्पादन भएको छ ।
यस वर्ष समयमै पानी परेकोले किसानहरु हर्षित छन् । धान उत्पादन राम्रो हुनेमा आशावादी समेत छन् । मौसमले यस वर्ष साथ दिएपनि किसानहरु मलको अभावमा मर्कामा परेका छन् । मधेश प्रदेशमा सिंचाईको अभाव रहेकोे समयमा जसो तसो धान रोपाई गर्दै आएका किसानहरुलाई खेतीपातीका लागि आवश्यक मलको अभावले पनि चिन्तित बनाएको छ ।
मल खाद्यको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गर्दै आएको छ । आपूर्तीको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनीको र ३० प्रतिशत साल्ट ट्रेडिङ्गको रहेपनि किसानहरु सहज रुपमा कुनै वर्ष मल नपाउने गरेको किसानहरुको गुनासो छ ।
तपाईको प्रतिक्रिया