विपद प्रतिकार्यका लागि तयारी अवस्था रहन मुख्यमन्त्री राउतको निर्देशन

समाचार

धनुषा, १७ असार । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बाढीबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा बस्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।

मधेश प्रदेश सरकार र नेपाली सेनाको संयुक्त आयोजनामा बन्दिपुरस्थित कमला व्यारेजमा आयोजित प्रदेशस्तरीय विपद व्यवस्थापन संयुक्त अभ्यासको अवलोकन गर्दै मुख्यमन्त्री राउतले सुरक्षा निकायहरूले विपद प्रतिकार्यका लागि गरेको तयारी उत्तम रहेको भन्दै सो निर्देशन दिएका हुन् ।
 
उनले भने,‘हाम्रो तयारी राम्रो छ, तसर्थ विपदको समयमा हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि व्यवहारमा लागु गर्न तयारी अवस्थामा बस्नु पर्दछ ।'
 
प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको मधेश प्रदेशमा विपद न्यूनीकरणका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्यका साथै संयुक्त संयन्त्र निर्माण हुनुपर्नेमा मुख्यमन्त्री राउतको जोड थियो ।

“नदीको उत्खनन र चुरे दुहनका कारण तराई मधेसका जिल्लाहरु विपद्को उच्च जोखिम छन्”, मुख्यमन्त्री राउतले भने, “बाढी, पहिरो जस्ता विपद्का कारण बर्सेनि ठूलो धनजनको क्षति हुँदै आएको छ, यसलाई नियन्त्रण गर्न तीनै तहका सरकार सामूहिक रूपमा अघि बढ्नु जरुरी छ ।”

प्रदेश सरकारले विपद्सम्बन्धी काम गर्ने छुट्टै संयन्त्र निर्माण गर्ने जानकारी दिँदै मुख्यमन्त्री राउतले छिट्टै संयन्त्र बनाई त्यसमा सीईओ नियुक्त गरी विपद् रोकथाम र न्यूनीकरणसम्बन्धी कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

बाढीजन्य प्रकोपका कारण हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले कमला नदीमा प्रदेशस्तरीय विपद् प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ ।

कृत्रिम अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरेका थिए । कमला नदीको प्रतिकारात्मक रूपमा विभिन्न भागमा विभाजित गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले हेलिकप्टर, बोडिङ, लाइफ ज्याकेट लगायतका सामग्रीको सहायतामा विपद्मा परेकाहरूको उद्धारसम्बन्धी कृत्रिम अभ्यास गरेको थियो ।

उक्त अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले वाढीबाट जनधनको क्षति न्युनिकरणका लागी गरिने प्रयासहरूबारे विभिन्न नमूनाहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी, धनुषा र सिरहाका विभिन्न पालिकाका प्रमुख, सुरक्षा निकायका अधिकारी, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति थियो । 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ