काठमाडौं, १७ असार । आगामी प्रदेश र संघको निर्वाचनमा युवावर्गलाई प्राथमिकता दिन आमनेपाली समुदायलाई हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले अपिल गरेका छन् ।
साथै उनले भने, ‘जेष्ठ नागरिकलाई सम्मान गर्नु पर्दछ । हरेक राजनीतिक दलले युवा प्रयोग मात्र गरे, अगाडि बढ्ने भ¥याङ्ग मात्र बनाएको देखियो ।’
मधेशवाणीसँग कुरा गर्दै पटेलले अगाडि थपे, ‘आज राजनीतिक दलको बेइमानी एवं स्वार्थीपनका कारण नेपाली युवाहरु खाडी मुलुक जान बाध्य छन् । लाखौं नेपाली आफ्नो देश छोडेर विदेश जान र बस्न बाध्य भएका छन् ।’
एउटा युवा भएको नाताले अब देश बनाउन हरेक क्षेत्रबाट युवालाई अगाडि बढाए मात्र मुलुकको समृद्धि, एकता, राष्ट्रियता, विकास, अखण्डता सुरक्षित हुने पटेलले दावी गरे ।
भ्रष्टाचारी, देशद्रोही, कालोबाजारी, विदेशीका एजेन्ट, राष्ट्रघाती, धर्म बेचूवालाई आउँदा दिनमा सबक सिकाउने र तह लागाउने बेला आएको उनले बताए ।
एक फरक प्रसङ्गमा पटेलले भने, ‘हिन्दू राष्ट्र नेपाल नेपालीहरुको पहिचान हो र हाम्रो राष्ट्रियता, अखण्डता मजबुत राख्ने मूल मेरुदण्ड हो । हिमाल, पहाड, तराई–मधेश सम्पूर्ण नेपालीलाई एक सूत्रमा बाँध्ने सेतु हो हिन्दू राष्ट्र । आज विश्वमा हरेक देशको आफ्नो धर्म छ र उसैबाट उसको पहिचान रहेको छ ।’
सम्पूर्ण नेपालीको पहिचान स्थापित गराउन आ–आफ्नो क्षेत्रबाट नेतृत्वदायी भूमिका निर्वाह गर्न परिषदका अध्यक्ष पटेलले आग्रह गरेका हुन् ।
तपाईको प्रतिक्रिया