भारत सरकारद्वारा उपहारस्वरूप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस प्रदान

समाचार

काठमाडौँ, १९ असार । भारत सरकारले नेपालका विविध हितग्राही संस्थाहरूलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरेको छ ।

आइतवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भारतीय राजदूतावासले भारत सरकारको अनुदान सहायताअन्तर्गत एम्बुलेन्स र बस उपलब्ध गराएको हो ।

नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामुलक संस्थाहरुलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले सम्बन्धित विभिन्न बस र एम्बुलेन्स प्रदान गरिएका संस्थालाई चाबी प्रदान गरेका थिए ।

भारतीय राजदूत श्रीवास्तवले स्वास्थ्य र शिक्षा क्षेत्रमा पूर्वाधार पक्षलाई सुदृढ गर्ने नेपाल सरकारको प्रयासलाई टेवा पुर्‍याउन नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत यस्ता किसिमका सहयोग लामो समयदेखि चलिआएको परम्पराको रूपमा रहेको बताए ।

त्यस्तै मन्त्री पौडेलले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाको प्रशंसा गर्नुका साथै यस्ता परियोजनाले जनता–जनताबीचको सम्पर्क र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सदैव बलियो बनाउने विश्वास व्यक्त गरे ।

भारतले सन् १९९४ यता नेपालका विविध जिल्लामा अवस्थित विभिन्न संस्थाहरुलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।

याे सहयोग भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” कै एक हिस्साको रूपमा रहेको छ ।

 

सन् १९९४ यता नेपालका विविध जिल्लामा अवस्थित विभिन्न हितग्राही संस्थाहरूलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ