काठमाडौँ, २० असार । राष्ट्रियसभाका सांसदहरूले रासायनिक मलको अभावबारे किसानले भोग्दै आएका समस्या सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभाको आजको बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले असारे बजेट सक्न अव्यवस्थित ढङ्गबाट खर्च गरिएको भन्दै आपत्ति जनाइन् ।
सांसद भैरवसुन्दर श्रेष्ठले रासायनिक मलको अभावका कारण किसान चिन्तामा रहेको बताउँदै जतिसक्दो चाँडो मल व्यवस्थापनमा लाग्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद गोपीबहादुर सार्की अछामीले मोरङ जिल्लाका विभिन्न स्थानमा वर्षा र बाढीका कारण भएको क्षतिका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै अनावश्यक नदी कटानलाई रोक्न नदी ऐनको व्यवस्था गर्नुपर्ने माग गरे ।
निजामती ऐन ल्याउन ढिला भएका कारण स्थानीय तहमा अनावश्यक कर्मचारी भर्ना गर्ने काम गरिएको भन्दै जतिसक्दो चाँडो ऐन ल्याउनुपर्ने माग गरे ।
सांसद उदयबहादुर बोहराले सङ्घीयतालाई सबल बनाउन सङ्घले प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै देशमा बढ्दै गएको हत्या, हिंसा, महँगी, बेरोजगारीको समस्या समाधान गर्नुपर्ने बताए ।
उनले राप्ती राजमार्गमा पटकपटक बजेटको व्यवस्था भए पनि सडक निर्माणको काम हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
तपाईको प्रतिक्रिया