जनकपुरधाम, २० असार । मधेश सरकारले ल्याएको आर्थिक वर्ष ०७९/८० को बजेटमाथि छलफल सुरु भएको छ ।
साेमबार प्रदेशसभाको बैठकमा बजेटमाथिको छलफल सुरु भएको हो ।
बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रस्तुत गरेको आर्थिक वर्ष ०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि समान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरूले समग्रमा बजेट प्रदेशलाई नयाँ आयाम दिने किसिमको भएको र यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।
प्रदेशसभा सदस्य रामआशिष यादवले यसवर्षको बजेटमा प्रदेशलाई समृद्ध बनाउने महत्वपूर्ण र नयाँ योजनाहरूलाई प्राथमिकता दिइएको उल्लेख गर्दै बजेटमा अबण्डा नराखिनु बजेटको सकारात्मक पक्ष भएको टिप्पणी गरे ।
प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले प्रदेशलाई विकास र समृद्धिको बाटोमा डो¥याउन मद्दत पुग्ने खालको बजेट भएको भन्दै बजेटले सबै धर्म, भाषाभाषी र संस्कृतिलाई सम्बोधन गरेको बताए ।
दलित समुदायको सशक्तिकरणका लागि बजेट विनियोजन गर्नु सकारात्मक भए पनि दलितभित्रका खास केही जातलाई मात्र समेटिएको भन्दै उनले त्यसलाई सुधार गरी जातको नभई आर्थिक विपन्नताका आधारमा योजनामा समेट्नुपर्ने सुझाव दिए ।
प्रदेशसभा सदस्य परमेश्वर साहले बजेटमा उल्लेख गरिएका कतिपय योजनाहरूमा रकम प्रस्ट नपारिएकोले बजेट कार्यान्वयमा शङ्का उब्जाएको बताए । चालु आर्थिक वर्षको पूँजीगत खर्च निराशाजनक रहेको अवस्थामा आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउनु कार्यान्वयनको दृष्टिकोणले चुनौतीपूर्ण देखिएको उनले बताए ।
गत असार १ गते प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री साहले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए । प्रदेशसभाको अर्को बैठक भोलि मङ्गलबार दिनको १ बजे बस्नेछ ।
तपाईको प्रतिक्रिया