जनकपुरधाम, २१ असार । मधेश प्रदेश सरकारको भौतिक संरचना निर्माणका लागि जग्गा पहिचान, प्राप्ति तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मुख्यमन्त्री लालबाबु राउतलाई आज प्रतिवेदन बुझाएको छ ।
जनकपुरधामलाई स्थायी राजधानी घोषणा गरिसकेपछि सरकारको मुख्य प्रशासनिक भवनलगायतका अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक जग्गाको पहिचान तथा प्राप्तिका लागि प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको संयोजकत्वमा गठन गरेको समितिले सरोकारबालाहरूसँगको छलफल पश्चात् प्रतिवेदन मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरेको हो ।
समितिले राजधानीको मूल संरचनाका लागि जचुकाली परिसरलाई नै मुख्य प्राथमिकतामा राखेर राजधानीभित्रका अन्य सार्वजनिक तथा गुठी अधिनस्त जग्गाहरूलाई समेटेर प्रतिवेदन तयार पारेको समितिका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री यादवले बताए ।
उनले जचुकालि परिसरलाई प्रशासनिक केन्द्र, चरण विकासको जग्गा तथा हाल प्रदेश सभा भवन रहेको क्षेत्रको जग्गामा आवास क्षेत्रलगायतका अन्य संरचना निर्माणका लागि सिफारिस गरेको बताए ।
प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री राउतले प्रतिवेदनलाई आउने मन्त्रिपरिषदको बैठकबाट स्वीकृति प्रदान गरी साउन पहिलो साता देखि नै जग्गा प्राप्तिको प्रक्रिया थालिने जानकारी गराएका थिए ।
तपाईको प्रतिक्रिया