कपिलवस्तुमा भारतको सहयोमा निर्मित विद्यालय भवनको उद्घाटन

समाचार

कपिलवस्तु, २३ असार । भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयका भवनहरूको उद्घाटन गरिएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री करुण वंशलले आज विद्यालय भवनहरूको उद्घाटन गरेका हुन् ।
शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत सामुदायिक विकास परियोजनाका रूपमा भारत सरकारको आर्थिक सहयोग ५ करोड ९२ लाखमा यी परियोजनालाई अघि बढाइएको हो ।

भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” कै एक हिस्साको रुपमा यी परियोजनाको उद्घाटन गरिएको हो ।

शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालय कपिलवस्तु जिल्लाकै सबैभन्दा पुराना विद्यालय हुन् । जहाँ क्रमशः ७०० र १३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् ।

ती मध्ये कपिलवस्तु जिल्लाका ५ गरी लुम्बिनी प्रदेशमा ६० वटा रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ