नेपालगन्ज, २३ असार । भेरी अस्पताल नेपालगन्जमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा सुरेशकुमार नागले अग्रिम हाजिर गर्ने गरेको पाइएपछि उनीमाथि कारबाहीको सिफारिस गरिएको छ ।
डा नाग असार २० गते नै असार २९ गतेसम्मको हाजिरी गरेर गएको भेटिएपछि उनीमाथि कारवाही सिफारिश गरिएको हो । असार २० गते अस्पताल पुगेर २९ गतेसम्मको अग्रिम हाजिरी गरेको पाइएपछि अस्पताल विकास समितिले जिल्ला प्रशासन कार्यालय, बाँकेमा कारबाहीका लागि पठाएको छ ।
डा नागले अस्पतालमा आफ्नो ड्युटी पूरा नगरेको भन्दै यसअघि पनि अस्पताल विकास समितिले २०७८ साल साउन २२ गते कारबाहीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेको थियो ।
तर डा नागलाई अहिलेसम्म पनि कारबाहीको प्रक्रिया अघि बढ्न नसकेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । अस्पतालमा हप्तामा दुई दिन मात्रै पालो पर्ने गर्छ । त्यही ड्युटीमा पनि डा नागले लापरबाही गर्ने गरेको अस्पताल विकास समितिका सदस्य श्रेष्ठले बताए ।
तपाईको प्रतिक्रिया