विद्युत चुहावट रोक्न प्रसारण लाइन सञ्चालनमा

समाचार

रुपन्देही, २३ असार । रुपन्देहीमा विद्युत आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।

नेपाल विद्युत प्राधिकरणले बुटवल सब स्टेसनबाट मैनहिया सब स्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनमा विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ । प्रसारण लाइनको निर्माणसँगै करिब २०० मेगावाट विद्युत प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ ।

मैनहियामा १३२/३३/११ केभीको सबस्टेसन निर्माण गरिएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै बुटवल, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने र उद्योगहरुलाई मागेजति विद्युत दिन सकिने आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले बताए ।

१८ किलोमिटर प्रसारण लाइनमा ५७ वटा टावरको निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गरिएको छ ।

मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सब स्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ ।

अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोमा मैनहिया–सम्पत्तिया बन्नेपछि नेपाल–भारतबीचको अन्तरदेशीय विद्युत व्यापारलाई अझ सहज बन्ने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ