महोत्तरी, २३ असार । महोत्तरीमा धान रोपाइँको गति बढेको छ । यही असारको पहिलो हप्तासम्म थोरै मात्र रोपाइँ भएको जिल्लामा पछिल्ला दिन किसानलाई रोपाइँको चटारो परेको छ ।
कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरीका अनुसार हालसम्म जिल्लामा २५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
असार १५ मा १० प्रतिशतमात्र भएको रोपाइँ अहिले २५ प्रतिशत पुगेको छ । यसपालि असार लागेयता लगातार पानी पर्दै आए पनि त्यसअघि ब्याड राख्न नै ढिलो भएको हुँदा तयार बीउ (बेर्ना) पर्याप्त नहुँदा मध्य असारसम्म रोपाइँ सुस्त देखिएको छ ।
बीउको शाही रोप ढिलो भएपछि यसपालि खरुवन (कलम, बीउ रोपेर गाँजिएको रोपो फेरि उखेलेर रोपिने बीउलाई खरुवन भनिन्छ) रोप पनि साउन १५ पछि नै सुरु हुने देखिन्छ ।
जिल्लाका कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमात्र स्थायी सिञ्चित भएको हुँदा अधिकांश खेती आकाशे पानीकै भरमा टिकेको छ ।
जिल्लामा कूल खेतीयोग्य जग्गा ६७ हजार ३५२ हेक्टर रहेको कृषि ज्ञान केन्द्र महोत्तरीको तथ्याङ्क अभिलेखमा उल्लेख छ । त्यसमध्ये ४५ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आइएको कार्यालयले जनाएको छ ।
यद्यपि कार्यालयको यो तथ्याङ्कभन्दा अलि फरक स्थिति रहेको यहाँका अगुवा किसान बताउँछन् । जिल्लामा सरदर प्रतिहेक्टर तीन दशमलव पाँच मेट्रिक टन धान उत्पादन हुने गरेको सरदर आँकडाविज्ञ सुनाउँछन् । यहाँका रैथाने जातिका धानमा बासमति, जसवा, सञ्जिरा र वानपाकीजस्ता मुख्य मानिन्छन् ।
त्यसैगरी विकसित जातका भनिने सावित्री, हर्दिनाथ–१ र २ ,स्वर्णा सव– १, साँवा सव– १, सुक्खा १, २ र ३, एवं भारतीय जातका सोना मन्सुली र कतरनी बढी लगाइने गरिएको वरिष्ठ कृषि विकास अधिकृत डा यादवको भनाइ छ ।
तपाईको प्रतिक्रिया