तमलोपाद्वारा ‘स्वशासनको पाँच वर्ष’ संगोष्ठी सम्पन्न

समाचार

जनकपुरधाम, २५ असार । तराई–मधेश लोकतान्त्रिक पार्टीले ’स्वशासनको ५ वर्ष’ संगोष्ठी कार्यक्रम जनकपुर बार एसिसिएसनको सभा कक्षमा सम्पन्न गरेको छ । तमलोपाको यस कार्यक्रममा राम्रो सहभागिता देखिएको थियो ।

कार्यक्रममा सर्वोच्च अदालतका पूर्व वरिष्ठ न्यायाधीश गिरिशचन्द्र लाल, सार्वजनिक खरीद प्रक्रियाका विज्ञ ई. सत्यनारायण साह, नेकपा समाजवादीका नेता संविधानसभा सदस्य शीतल झा र तमलोपाका केन्द्रीय अध्यक्ष वृषेशचन्द्र लाल प्रमुख वक्ता थिए ।

कार्यक्रमको मोडरेटर डा. विजयकुमार सिंहले संगोष्ठीको उद्देश्य देशमा संघीय संरचनापछि स्वशासनको अभ्यास सही दिशामा र जनआकांक्षा अनुरुप भयो भएन भन्ने कुरामा स्वतन्त्र विचारकहरूको मन्तव्य जान्नु रहेको बताएका थिए ।

उनले स्वशासनको अर्थ नै नबुझी अभ्यास भइरहेको र विधिको शासनको आभाष हुन नसकेको धारणा व्यक्त गरेका थिए ।

सर्वोच्च अदालतका पूर्व वरिष्ठ न्यायाधीश गिरिशचन्द्र लालले मधेशी विदेशी होइन कसैभन्दा पनि बढी भूमिको सन्तान भएको बताउँदै स्वशासनको सही अभ्यासको प्रयास पनि एक किसिमको संघर्ष हो । मधेशले सधैं शान्तिपूर्ण संघर्ष गर्दै आएको छ र यो जारी रहनु पर्दछ भनी मन्तव्य राखेका थिए ।

सार्वजनिक खरीद प्रक्रियाका विज्ञ ई. सत्यनारायण साहले सुशासन नभई कुनै शासन सही दिशामा जान सक्दैन । बजेटको ७०–८०% सार्वजनिक खरीद र योजना परिचालनसंग सम्बन्धित हुन्छ । त्यसको पालना भइनरहेकोले गर्दा भ्रष्टाचार एकदमै बढेको र सुशासन हुन नसकेको बताउनु भएको थियो । स्वशासनको अभ्यासमा यो अनिवार्य तत्त्व हुन्छ भन्ने धारणा राखेका थिए ।

नेकपा समाजवादीका नेता संविधानसभा सदस्य शीतल झाले ’स्वशासन र संयुक्त वा सहशासन एकअर्कासंग जोडिएको हो र तहहरुमा यसबारे समन्वय छैन । भ्रष्टाचारमाथि बिल्कुलै नियन्त्रण छैन । जनताले स्वशासनले कुनै लाभ पाइको छैन । बेलैमा सचेत हुन जरुरी छ ।“ भन्दै आफ्नो मनतव्य राखेका थिए ।

तमलोपाका केन्द्रीय अध्यक्ष वृषेशचन्द्र लालले पार्टीको धारणा राख्दै विभेद र विकास तथा अवसरमा भेदभावको एक मात्र निदान संघीयता मार्फत स्वशासन हो । तर हाम्रो अहिलेको हालले स्वशासनको अनुभूति दिन सकेको छैन ।

प्रदेशलाई कुन दिशामा आगाडि बढाउने हो त्यो नै प्रदेशको सरकारले अनुभूति गराउन सकेको छैन । यस मामिलामा सपा–राजपाको सरकार अथवा सत्ता–गठबन्धनको सरकार दुबैमा कुनै अन्तर देखिएन । जनताको करको दुरुपयोग भएको छ ।

गाउँ–गाउँमा गेट, मूर्ति, मठ–मन्दीर, मस्जीदमा रकम विनियोजन गरिएको छ । पूर्वाधार वा उत्पादनमूलक अल्प वा दिर्घकालिन योजनामा विनियोजन भएको छैन । व्यक्तिलाई खुश गर्ने र कमीशन आउने योजनाहरु छनौट भएका छन्, गर्ने प्रवृति छ ।

सरकारसंग प्रदेशलाई कता लग्ने कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनमा कुन लक्ष्यसम्म पुर्याउने भन्ने दृष्टि नै छैन । बिना कार्यविधि र योजनाका पनि खरीदहरू भएका छन् । जनताको पैसाबाट करोडौंको बस किनेर सराइएको छ । कुनै अख्तियार यसबारे चाँसो लिएको छैन ।

समग्रमा स्वशासनको अहिलेसम्मको अभ्यास पूर्णत असफल देखिन्छ । कोही पहिलो मुख्यमन्त्री वा मन्त्रीको इतिहास बनाए होलान् तर ऐतिहासिक जिम्मेदारी पूरा गर्न भने पटक्कै सकेका छैनन् ।

अध्यक्ष लालले तमलोपा भ्रष्टाचार मुक्त, स्पष्ट दृष्टि, विधिको सर्वोच्चता सहितको स्वशासनको पक्षमा छ र यसको अभियान जारी राख्ने छ भन्दै तराई–मधेश लोकतान्त्रिक पार्टीले यस्तो कुनै जिम्मेदारी पाए खरो उत्रिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ