काठमाडौँ, २८ असार । मधेश प्रदेशको सहभागिताबिना १२ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रतियोगिता आजदेखि राजधानीमा सुरु भएको हो ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले प्रतियोगिताको उद्घाटन गरे ।
यस अवसरमा उनले विद्यालयस्तरीय प्रतियोगिताबाटै भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान गर्न सकिने भएको हुँदा प्रतियोगिता महत्वपूर्ण भएको बताए ।
राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले विद्यालयस्तरीय प्रतियोगिता नै खेलकुदको मेरुदण्ड भएको धारणा व्यक्त गर्दै कलिलो उमेरका खेलाडीलाई संरक्षण गर्न सके देशका लागि सक्षम खेलाडी तयार गर्न टेवा पुग्ने बताए ।
उद्घाटनका अवसरमा सहभागी पाँचै प्रदेशका खेलाडीले मार्च पास्ट गरेका थिए ।
विभिन्न ६ खेल समावेश प्रतियोगितामा प्रदेश १ र मधेश प्रदेशबाहेक पाँच प्रदेशको सहभागिता रहेको छ । भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते र उसुमा ५०० खेलाडी सहभागी छन् ।
एथलेटिक्समा २६, करातेमा आठ, तेक्वान्दो र उसुमा ६–६, भलिबल र कबड्डीमा २–२ गरी ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । समग्रमा शीर्ष तीन स्थानमा रहने टिम र खेलाडीको व्यक्तिगत गरी कुल पुरस्कार राशि नौ लाख ४५ हजार रहेको छ । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।
तपाईको प्रतिक्रिया