चौपाया व्यवस्थापनमा आफै जुटे स्थानीय

समाचार

कपिलवस्तु, ३० असार । कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा नगरपालिकाले नै व्यवस्थापन गर्न नसकेको छाडा पशु चौपाया व्यवस्थापनको काममा एउटा टोलका नागरिकको सक्रियतामा सुरु भएको छ ।

बाणगङ्गा नगरपालिकाले अघिल्ला आर्थिक वर्षमा छाडा चौपाया व्यवस्थापनका लागि भन्दै वडा नम्बर ८ को मधुवन धाममा गौशाला निर्माणको काम सुरु गरेको भए पनि सडकमा छाडा चौपाया व्यवस्थापन हुन भने सकेको छैन । अहिले पनि नगरपालिकाले ५५ लाख बजेट छुट्टाएको छ ।

अहिले कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ स्थित चप्पर गाउँका क्रियाशिल नागरिकहरुले छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन समिति नै गठन गरी चौपायाको व्यवस्थापनमा जुटेका हुन । उनीहरुले बाणगङ्गाको चप्परगाउँबाट करिब ३० देखि ४० वटा छाडा पशुलाई नियन्त्रणमा लिएर नगरपालिकाले मधुवनमा बनाएको गौशालासम्म पु¥याएका छन् ।

दिनहुँ किसानले लगाएका बालीनाली खाने र सडक दुर्घटनाको जोखिम पनि निम्ताएका त्यस्ता चौपायाको उचित व्यवस्थापन गर्ने उद्देश्यका साथ चौपाया नियन्त्रणमा लिएर गौशाला सम्म आफ्नै लागतमा पु¥याएका हुन ।

यस्तै छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष छविलाल पन्थले किसानहरू दिनहुँ छाडा छोडिएका गाई गोरुको आतंकले हैरान भएको र सडकमा समेत पशुको संख्या धेरै हुँदा दुर्घटनाको जोखिम पनि बढी हुने देखिएपछि चौपाया व्यवस्थापनमा जुटेको बताएका छन् ।

हाल मधुवन धाममा निर्माण गरिएको गौशालामा चौपाया लगिएको र आवश्यक घाँसको प्रबन्ध पनि समितिले मिलाउने उनले जानकारी दिएका छन् ।

अहिले बाणगङ्गाको कोइली बनगाई देखि पूर्वको कोठी खोला सम्मको क्षेत्रमा करिब एक सय बढी छाडा चौपाया दैनिक भेटिन्छन् ।

छाडा चौपायाको उचित व्यवस्थापन र नियन्त्रणका लागि बाणगङ्गा नगरपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको भए पनि ठोस पहल हुन नसक्दा चौपायाको व्यवस्थापनमा नगरपालिका कमजोर बनेको छ भने जोखिम उत्तिकै बढ्दै गएको छ ।

हाल बाणगङ्गाको मधुवन धाममा गौशाला निर्माण गरिएको छ भने राम दुतिवन धाममा पनि छाडा चौपायाको आंशिक व्यवस्थापनको काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ