कैलाली, ३० असार । कैलालीका केही स्थानीय तह साक्षर घोषणा नहुँदै जिल्लालाई साक्षर घोषणा गरिएको छ । यहाँका चार वटा स्थानीय तह अहिलेसम्म साक्षर घोषणा गरिएका छैनन् ।
कैलाली जिल्लालाई साक्षर घोषणा गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले १५ देखि ६० वर्ष उमेर समूहमा साक्षरता दर ९५ प्रतिशतभन्दा माथि रहेकाले जिल्लालाई साक्षर घोषणा गरिएको बताए ।
‘कैलालीका १३ वटै स्थानीय तहले साक्षर घोषणा गरी कार्यपालिकाको निर्णय पठाएपछि बुधबार साक्षर जिल्ला घोषणा गरिएको हो,’ उनले भने ।
तर, धनगढी उपमहानगरपालिका, गौरिगंगा नगरपालिका, चुरे र मोहन्याल गाउँपालिका साक्षर स्थानीय तह घोषणा हुन बाँकी छ । सुवेदीले भने सबै पालिकाले साक्षर घोषणा गरिसकेको दाबी गरे । ‘चुरेले असार १४ गते गरेको, गौरिगंगाले फागुन या चैत कहिले गरेको हो, मोहन्यालले अहिले १४ गते घोषणा गरेको हो,’ उनले भने ।
धनगढी उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख नृपबहादुर वडले आफनो कार्यकालमा धनगढी उपमहानगरपालिकालाई साक्षर नगर घोषणा गर्ने तयारी अघि बढे पनि निर्वाचनका कारण पूर्णता हुन नसकेको बताए । उनले भने, ‘वडा तहबाटै साक्षर घोषणा हुँदै आएको थियो । नगरलाई साक्षर घोषणा गर्न सकिएको थिएन ।’
साक्षर घोषणाका लागि पहल नै नगरेको मोहन्याल गाउँपालिकालाई कागजमै साक्षर घोषणा गरिएको छ । चुरे गाउँपालिका र मोहन्याल गाउँपालिका दुर्गम रहेकाले साक्षर घोषणा गर्न असम्भव रहेको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन् ।
२०६७ देखि २०७१ सालसम्म कैलालीमा साक्षरता अभियान सञ्चालन गरिएको थियो । अहिले स्थानीय तहहले घरधुरी सर्भेक्षण गरेपछि साक्षर घोषणा गरेका हुन् ।
२०६७ सालमा गरिएको सर्भेक्षणमा एक लाख ५६ हजार निरक्षर रहेकोमा २०७१ सम्म सञ्चालन भएका साक्षरता अभियानमा करिब एक लाख ६१ हजार जनालाई साक्षर बनाइएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।
कैलालीलाई २०६७ सालमै साक्षर जिल्ला घोषणा गराउने तयारी भए पनि हुन सकेको थिएन । कैलाली र कञ्चनपुरलाई आर्थिक वर्ष २०७६/७७ को जेठ मसान्तिभत्रै साक्षर जिल्ला घोषणा गराउने स्थानीय तहहरूले प्रतिवद्धता व्यक्त गरे पनि कोरोना महामारीका कारण कार्यक्रम अघि बढ्न सकेको थिएन ।
२०६८ को जनगणना अनुसार कैलालीमा सात लाख ७५ हजार ७०९ जनसंख्या रहेकोमा १५ देखि ६० उमेर समूहका चार लाख २४ हजार दुई रहेकामा एक लाख ५९ हजार २०१ निरक्षर रहेको उल्लेख छ ।
साविकको शिक्षा कार्यालयले २०६७ सालमा गरेको घरधुरी सर्वेक्षणमा भने एक लाख ४३ हजार २३५ जनसंख्या निरक्षर रहेको देखाइएको थियो । सरकारले जारी गरेको साक्षर नेपाल वर्ष २०७६ अनुसार कैलालीमा विगत आठ वर्षमा एक लाख ४५ हजार १४२ जनसंख्याले साक्षरता कक्षा प्राप्त गरेको उल्लेख छ ।
तपाईको प्रतिक्रिया