काठमाडौंं, ३० असार । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले वैदेशिक रोजगारको नाममा विदेश पुगेर ठगिएका र त्यहाँ विभिन्न समस्याहरुबाट पीडित मधेशी समुदायका श्रमिकहरुलाई यथाशीघ्र उद्धार गरेर न्याय दिलाउन परराष्ट्र मन्त्री डा.नारायण खड्कालाई आग्रह गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा आयोगका अध्यक्ष डा.दत्त र मन्त्री खड्काबीच भएको औपचारिक भेटघाटमा अध्यक्ष डा.दत्तले आयोगमा वैदेशिक रोजगारी सम्बन्धी विभिन्न किसिमको उजुरी आउने गरेको र सो समस्याहरुलाई परराष्ट्र मन्त्रालयले बिना ढिलासुस्ती गरी प्रभावकारी रुपमा सम्बोधन गरी समाधान गर्नको लागि सम्बन्धित निकायहरुलाई निर्देशन गरिदिन समेत आग्रह गरेका छन् ।
अध्यक्ष डा.दत्तले सबैभन्दा बढी तराई–मधेशबाट बैदेशिक रोजगारमा जाने गरेको र समस्याहरु धेरै आउने गरेकोले आफू सोप्रति गम्भीर रहेको बताएका छन् ।
अध्यक्ष डा.दत्तले विदेशस्थित नेपाली दूतावासहरुले त्यहाँ रोगजार वा विभिन्न सिलसिलामा पुगेकाहरुलाई समस्या पर्दा प्रभावकारी रुपमा त्यहाँका सरोकारवाला निकायहरुसँग समन्वय गरी समस्यालाई तुरुन्त समाधान गर्नुपर्ने बताएका छन् ।
परराष्ट्र मन्त्री खड्काले आफू र मन्त्रालय सोप्रति सचेत रहेको र पीडितलाई न्याय दिलाउन कुनै कमी कमजोरी नआउन दिने बताएका छन् ।
उनले आयोग र मन्त्रालय एक आपसमा समन्वय गरेर त्यस्ता आएका उजुरीहरुलाई सक्दो छिटो समाधान तर्फ लग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया