काठमाडौं, ३१ असार । भारत सरकारले नेपाल सरकारलाई बाढी तथा पहिरो जस्ता विपद्बाट बच्न विभिन्न राहत सामग्रीहरु प्रदान गरेको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित एक समारोहबीच गृहमन्त्री बालकृष्ण खाणलाई बाढी तथा पहिरो राहत सामग्री हस्तान्तरण गरेका छन् ।
राहत सामग्रीमा ३००० वटा ठूला साइजका टेन्ट तथा १० वटा इनफ्लेटेबल डुंगा रहेका छन् ।
हरेक वर्ष भारी वर्षाका कारण हुने डुबानले नेपालका विभिन्न भागमा ठूलो विनाश र क्षति हुने गरेको छ । मानवीय सहायता तथा विपद् राहत उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई कायम राख्दै नेपाल सरकारले राहत सामग्रीका लागि गरेको अनुरोध बमोजिम दूतावासले राहत सामग्री उपलब्ध गराएको जनाइएको छ ।
नेपाली जनता र नेपाल सरकारलाई विपद् न्युनीकरण प्रयासमा सहयोग गर्न मानवीय सहायता तथा विपद् राहत उपलब्ध गराउने यो पहल नेपाल र भारतबीचको विकास साझेदारीको आधारको रुपमा रहेको छ ।
यसले भारत र नेपालका जनताबीचको भावनात्मक सम्बन्धलाई उजागर गरेको छ ।
कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले राहत सामाग्री बेलैमा उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गरेका हुन् । उनले सम्बन्धित निकायले राहत सामग्रीको उचित प्रयोग एवम् समयमै वितरण गरी त्यसको अधिकतम् लाभलाई सुनिश्चित गर्ने कुरामा आफू आशावादी रहेको बताए ।
समयमै राहत सामग्री उपलब्ध गराइदिएकोमा गृहमन्त्री खाणले भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै नेपालमा भारत सरकारको सहयोगमा सञ्चालित विकास परियोजनाको सराहना गरेका छन् ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक बहुक्षेत्रीय सहकार्य रहेको छ । यी राहत सामग्रीको हस्तान्तरणलेआफ्ना जनताको उत्थानका लागि नेपाल सरकारले चालेको प्रयासलाई थप बलियो बनाउन भारत सरकारको निरन्तर सहयोग रहने कुरालाई प्रतिबिम्बित गरेको दूतावासले जनाएको छ ।
तपाईको प्रतिक्रिया