मतदाता नामावली संकलनको समय थप गर्न जनमत पार्टीको माग

समाचार

जनकपुरधाम, ३१ असार । मतदाता नामावली संकलन कार्यका लागि समय थप गर्न जनमत पार्टीले माग गरेको छ ।

मधेश प्रदेश निर्वाचन कार्यालयमार्फत ज्ञापन पत्र बुझाउँदै जनमत पार्टीले धेरै जना योग्य नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्न छुटेकोले समय थप गर्न माग गरेको हो ।

शुक्रबार मधेश प्रदेश निर्वाचनका प्रमुख श्रीधर पन्थीलाई ज्ञापन पत्र बुझाँउदै जनमत पार्टीले अहिले पनि जिल्ला निर्वाचन कार्यालयहरूमा मतदाता नामावलीमा नाम समावेश गराउनेहरूको भिड बढीरहेकोले समय थप गर्न माग गरेको हो ।

साथै जनमत पार्टीले पालिकास्तरमा पुगेर पनि फोटोसहितको मतदाता नामावली संकलन गर्न माग गरेको नेता बीपी साहले जानकारी दिएका छन् । स्थानीय स्तरमा प्रचारप्रसार नहुँदा धेरै योग्य नागरिकलाई मतदाता नामावलीमा नाम लेखाउने कार्यबारे जानकारीसमेत नभएकोले स्थानीयस्तरमा प्रचार प्रसार गर्न पार्टीले माग गरेको साहले बताए ।

यसैगरी जनमत पार्टीले मधेश प्रदेशलगायतमा पनि अनलाइन प्रणालीबाट मतदाता नामावली संकलन गर्न माग गरेको छ । नेता साहले भने,‘विदेशमा रहेका नेपाली नागरिकहरूलाई मताधिकार दिने कुरा हुँदै आएको छ । त्यो पनि गरिनु पर्छ । तर, तत्काल विदेशमा रहेका योग्य नागरिकहरूलाई मतदाता नामावलीमा नाम समावेश गर्ने व्यवस्था मिलाइनु पर्छ । दूतावास अथवा अनलाइनमार्फत भएपनि विदेशमा रहेका नेपालीहरूको नाम मतदाता नामावलीमा समावेश हुनुपर्छ ।

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अघि मतदाता नामावली संकलन भइरहेको छ । असार मसान्तसम्म मात्र नाम संकलन हुने निर्वाचन आयोगले जनाएको छ । तर, निर्वाचन कार्यालयहरुमा अहिले पनि मतदाता नामावलीमा नाम लेखाउनेहरूको निकै भिड देखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ