इमरान खान, कपिलवस्तु, ३२ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद ईश्तियाक राईले कपिलवस्तु नगरपालिकाको पूर्वाधार विकासका लागि नगरको गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
कपिलवस्तु नगरपालिकाले नवनियुक्त मन्त्री राईलाई आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
विगतमा आफू शहरी विकासमन्त्री हुँदासमेत कपिलवस्तु नगरपालिका क्षेत्रमा विभिन्न विकासका योजना दिएको स्मरण गर्दै अब पनि यस नगरको विकासका लागि योजनाहरु दिन तत्पर रहने उनले बताए ।
चालु आवको बजेट आएपछि आफू मन्त्री भएको भए पनि केही कार्यक्रमका अबण्डा रकमहरु कार्यान्वयनमा सहयोग गर्न सक्ने, केही विदेशी दातृ निकायको सहयोगको सहरी रोडका साना योजनाहरु कार्यान्वयनमा ल्याउन सक्ने अवस्था रहेकाले सो अनुसार सहयोग गर्ने मन्त्री राईले बताए ।
सो अवसरमा बोल्दै कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले मन्त्री राई शहरी विकासमन्त्री हुँदा नगर क्षेत्रमा निर्माण भएका अस्फाल्ट प्रबिधिका सडक बनाउन भूमिका खेलेको स्मरण गरे ।
बहादुरगंज जाने चोकदेखि तिलौराकोटसम्मको सडक र बजार क्षेत्रमा निर्माण भएको सडकमा लाइटिङ्ग तथा सुन्दरीकरणका लागि आवश्यक बजेट विनियोजनका लागि मन्त्रीबाट पहल हुनेमा विश्वस्त रहेको उनले बताए ।
कार्यक्रममा मन्त्री राईसँगै लुम्बिनी प्रदेशकी कृषि, खाद्य, प्रबिधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीलाई नगर प्रमुख सुदिप पौडेल, उपप्रमुख सुनिता गुप्ता र वडाअध्यक्षहरुले सम्मान गरी मायाको चिनो हस्तान्तरण गरेका थिए ।
स्वागत तथा सम्मान कार्यक्रममा नगरपालिकाका सामाजिक विकास सल्लाहकार अब्दुल रसिद खाँ, निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया