जगदीशपुर ताल पन्छी आरक्ष बन्यो

समाचार

मणि प्रसाद गैह्रे, कपिलवस्तु, १ साउन । जगदीशपुर ताललाई विशेष कार्यक्रमका बीच पन्छी आरक्ष घोषणा गरिएको छ । चरा पर्यटनको विकास र आकर्षण बढाउन ताललाई पन्छी आरक्ष घोषणा गरिएको हो ।

शनिबार जगदीशपुरमा आयोजित सभामा लुम्विनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद के.सी र वन वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्र बहादुर हमालले ताललाई पन्छी आरक्ष अर्थात वर्ड सेन्चुरी घोषणा गरेका हुन् ।

शिलालेख खनावरण, परेवा उडाएर र वेलुन उडाएर उनीहरुले संयुक्त रुपमा घोषणा गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकारले असार ३१ गते मन्त्रिपरिषदको निर्णयबाट जगदीशपर ताललाई पन्छी आरक्ष केन्द्र बनाउने निर्णय गरेसँगै शनिबार नै ताललाई पन्छी आरक्ष घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले चरा संरक्षण गरी पर्यापर्यटनको विकास गर्दै स्थानीयलाई आय आर्जन र रोजगारीसँग जोडेर जीविकोपार्जनमा सहयोग पुग्ने पन्छी आरक्ष भएको बताए ।

अब तालको संरक्षणर विकासको लागि स्थानीय सरोकारवाला मिलेर गर्नुपर्ने बताए । साथै केसीले स्थानीय स्रोत तथा साधनको प्रयोग मौलिक सस्कृति अनुसार यस क्षेत्रको विकास गनुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा वन वातावरण मन्त्री सुरेन्द्र हमालले लुम्बिनी प्रदेश वन ऐन २०७८ को परिच्छेद ११ को दफा ४५ अनुसार आरक्ष घोषणा गरिएको बताए ।

सो एनमा प्रदेश सरकारले रैथाने तथा आगन्तुक पन्छी र संकटापन्न वन्यजन्तुको वासस्थान संरक्षण तथा वन्यजन्तु आवतजावत गर्ने प्रदेशभित्रको कुनै क्षेत्रलाई वर्ड सेन्चुरी वा जैविक मार्ग घोषणा गर्न सकिने व्यवस्थाअनुसार प्रदेश सरकारके निर्णय अनुसार घोषणा गरिएको बताए ।

कार्यक्रममा उर्जा जलस्रोत तथा सिचाइ मन्त्री विर बहादुर रानाले सिंचाइको साथमा वन वातावरण तथा पर्यटनलाई सहयोग हुने गरि तालमा काम भएकोले स्थानीयले चौतर्फि लाभ लिनुपर्ने बताए ।

साथै रानाले कृषि क्षेत्रको लागि सिंचाइ अपरिहार्य भएकोले सिंचाइ संगै वन वातावरण र पर्यटनलाई पनि जोडेर लैजाने काममा प्रदेशले योजना वनाइ काम गरेको बताए ।

कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडलले कपिलवस्तु नगरपालिकामा रहेको जगदिशपुर ताललाई चरा आरक्ष घोषणा गरि नगर र जिल्लालाई नै उचो बनाउने काम गरेकोमा प्रदेश सरकारलाई धन्यवाद व्याक्त गरे । साथै पौडेलले नगरपालिकाले विभिन्न निकाय संग सहकार्य गरि तालको संरक्षणमा लाग्ने समेत बताए ।

पन्छी आरक्ष बनाएर पर्यापर्यटन विकास गर्न डिभिजन वन कार्यालयले ६ महिना लगाएर पाँचवर्षे व्यवस्थापन कार्ययोजना बनाएको थियो  । रामसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल पनि एक हो ।

कपिलवस्तु नगरपालिका–९ र १० मा रहेको यो ताल १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । १९७२–१९८० मा सिँचाइ प्रयोजनका लागि निर्माण गरिएको ताल अहिले चरा अवलोकनका लागि नेपालकै उत्कृष्ट गन्तव्य बनेको छ ।

बसाइँसराइ गरी आउने पाहुना चरा, विभिन्न प्रजातिका माछा, उभयचर, आसपास पाइने वन्यजन्तु, वनस्पति यहाँका मुख्य जैविक विविधता रहेको छ ।

यस क्षेत्रमा ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइने उल्लेख छ । ताल क्षेत्रमा १ सय ६७ प्रजातिका चरा पाइने जनाएको छ ।

त्यसमध्ये ९२ प्रजातिका रैथाने, ८ प्रजातिका गर्मी याममा आउने, ६४ प्रजातिका जाडो याममा आउने र ३ प्रजातिका आंशिक प्रवासी रहेको अध्ययनले देखाएको छ । विश्वमै दुर्लभ मानिने वन्यजन्तु पानी बिरालो र ८ प्रजातिका चरा पनि यहाँ पाइन्छ ।

जगदीशपुर ताल मुलुकको दोस्रो तथा लुम्बिनी प्रदेशको पहिलो चरा आरक्ष भएको छ । यसअघि सुदूरपश्चिम प्रदेशको घोडाघोडी ताललाई २०७८ मा चरा आरक्ष घोषणा गरिएको थियो ।

चरा आरक्ष घोषणा पछि तालमा थप आयाम तथा यसको सर्वधन र प्रर्वधनमा विभिन्न निकायले सहयोग गर्नेमा आफुहरु विश्वश्त रहेको जगदिशपुर ताल बहुसरोकार मंचमा अध्यक्ष ललित गुरुङ्खले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ